भदौ ४, २०८२ बुधवार । रुप्से न्यूज
म्याग्दी– प्रजनन स्वास्थ्य सचेतना तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा ८१ जनाको स्वास्थ्य परीक्षण भएको छ । मिलन म्याग्दीको आयोजना, जिल्ला समन्वय समिति म्याग्दी र उज्यालो वैकल्पिक विद्यालय म्याग्दीको समन्वय तथा प्रदेश जनस्वास्थ्य कार्यालयको आवश्यक सामग्री र प्रदेश अस्पताल बेनी म्याग्दी तथा बेनी नगरपालिकाको प्राविधिक सहयोगमा प्रजनन स्वास्थ्यबारे सचेतनासहित स्वास्थ्य परीक्षण गरिएको हो ।

नेपालीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर मिलन म्याग्दीको आयोजनामा प्रजनन स्वास्थ्य सचेतनामूलक स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको थियो । कार्यक्रममा सहभागीहरुको सुगर, प्रेसर तथा उचाई अनुसारको तौल भए, नभएको बारेमा (बिएमआई) परीक्षण गरियो । उक्त परीक्षणबाट १२ जना प्रेसरका नयाँ बिरामीको पहिचान हुनुका साथै ११ जनामा सुगर भेटिएको छ ।

सुगर तथा प्रेसरको समस्या देखिएकालाई थप उपचारको लागि प्रदेश अस्पताल बेनी म्याग्दीमा रिफर गरिएको स्वास्थ्यकर्मीले बताएका छन् । निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा बेनी नगरपालिकाका स्वास्थ्यकर्मी सुमित्रा थजाली र प्रदेश अस्पताल बेनीका पूर्व स्वास्थ्यकर्मी मिना राम्जालीले सुगर, प्रेसर र बिएमआई परीक्षण गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रदेश अस्पताल बेनीका प्रसुति रोग विशेषज्ञ डाक्टर सरोजकुमार यादवले प्रजनन स्वास्थ्य सम्बन्धी विषयमा आफ्नो प्रस्तुतीकरणसहित सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीको कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले उज्यालो वैकल्पिक विद्यालयका आमाहरु तथा दिदीबहिनीहरुलाई लक्षित गरी आयोजित कार्यक्रम अत्यन्तै प्रेरणादायी र सराह्रनीय रहेको बताउनुभयो । उहाँले उमेर गएर पनि विद्यालय पढ्ने तीव्र इच्छा र चाहना भएका सबैलाई शिक्षाप्रति प्रेरित गर्न समाजमा सन्देश प्रवाह गर्नुपर्ने बताउँदै उज्यालो वैकल्पिक विद्यालयमार्फत शिक्षा र ज्ञानको ज्योति फैलाउनुपर्नेमा जोड दिनुभयो । तुलनात्मक रुपमा पुरुषभन्दा महिलाको स्वास्थ्य संवेदनशील हुने भन्दै समय समयमा स्वास्थ्य परीक्षण गरी पूर्ण स्वास्थ्यलाभ लिन सहभागी महिलाहरुलाई उहाँले सुझाव समेत दिनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले नेपाली समाजमा महिला दिदीबहिनीहरुको प्रमुख चाडको रुपमा रहेको तीज पर्वको ऐतिहासिक र सांस्कृतिक महत्व रहेको बताउनुभयो । उहाँले नेपाली समुदायले मनाउँदै आएका चाडपर्वहरुलाई अब पुस्तान्तरण गर्न आवश्यक रहेको बताउँदै आफ्नो स्वास्थ्यप्रति महिला स्वयं आफै सचेत रहनुपर्ने बताउनुभयो । बेनी नगरपालिकामार्फत पनि विभिन्न समयमा स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतनाको साथै महिलालक्षित कार्यक्रमहरु सञ्चालनमा जोड दिइएको उहाँको भनाइ छ ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता एवं वडानम्बर ७ बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ र उज्यालो वैकल्पिक विद्यालयका अध्यक्ष राजेश शाक्यले मन्तव्य व्यक्त गर्दै समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालनलाई निरन्तरता दिनुपर्ने बताउनुभएको थियो । कार्यक्रमको समापन गर्दै मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले संस्थामार्फत जिल्लास्थित विभिन्न कार्यालय र संघसंस्थाको समन्वयमा महिलालक्षित सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हुँदा आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रम मिलन म्याग्दीको निवर्तमान अध्यक्ष एवं गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखाका सचिव कमला बानियाँ थापाको स्वागत र मिलन संस्थाका कर्मचारी छवि पूर्जाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा मिलन म्याग्दीको आजीवन सदस्य तथा धवलागिरि गाउँपालिकाको पूर्व अध्यक्ष थमसरा पुन, जिल्ला समन्वय समिति म्याग्दीका जिल्ला समन्वय अधिकारी निलकण्ठ शर्मा, शाखा अधिकृत अमृत सुवेदी, बेनी नगरपालिकाको कार्यपालिका सदस्य सृजना श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, सञ्चारिका समूह नेपालका जिल्ला अध्यक्ष देवी जिसी, बेनीको ६, ७ र ८ नम्बर वडाका महिला सदस्यहरुको विशेष उपस्थिति रहेको थियो ।



