शिव बानियाँ
१. पुलाचौरको गर्भबाट उदाएको चेतनाको उज्यालो :
म्याग्दीको सुदूर र ऐतिहासिक भूगोलमा निष्ठाको बीउ रोपेर आफ्ना पाइलाहरूद्वारा शैक्षिक र सामाजिक क्रान्तिको जग बसाल्ने रूपनारायण श्रेष्ठ केबल एउटा नाम वा व्यक्ति मात्र होइन, उहाँ त समयको क्यानभासमा कोरिएको समर्पणको अमिट तस्बिर र निष्कलङ्कताको पर्याय हुनुहुन्छ । प्रकृतिको काखमा अवस्थित, ऐतिहासिक र सांस्कृतिक सुगन्धले भरिपूर्ण बेनी नगरपालिका–५, पुलाचौर त्यस्तो उर्वर भूमि हो, जसले सदियौँदेखि वीरता, श्रम र बौद्धिकताका अनेकौँ गाथाहरू जन्माएको छ । यही पुलाचौरको पावन माटोमा जन्मिएर यसैको सुगन्धलाई आफ्ना कर्मले सबैका सामु चिनाउने प्रेरणाका स्रोत हुनुहुन्छ– रूपनारायण श्रेष्ठ । ८० वर्षे जीवनको उकाली–ओराली पार गरिसक्दा पनि खाइलाग्दो र आकर्षक शारिरीक व्यक्तित्व, पढाइमा मेधावी तथा स्मरणशक्तिमा अब्बल सिद्ध हुनुभएका उहाँलाई पोखराको बसाइलाई शरिरले मात्र समेटेको छ; तर, उहाँको मन र ममताका गहिरा जराहरू भने अझै पनि यही जन्मभूमि पुलाचौरकै माटोमा गहिरो हुने गरी गाडिएका छन् ।
२. शैक्षिक यात्रा : पुलाचौरको आँगनबाट ज्ञानको विशाल क्षितिजसम्म
“शिक्षा भनेको केबल अक्षर चिन्ने माध्यम होइन, समाजलाई उज्यालो दिने एउटा पवित्र साधना हो ।” उहाँको शैक्षिक यात्रा विद्याको त्यो आलोक हो, जसले पुलाचौर र म्याग्दीको दुर्गम क्षितिजमा ज्ञानको बिहानी ल्यायो ।
शिक्षाको सुरुवात र सङ्घर्ष : पुलाचौरकै जनकल्याण प्रावि हालको माविमा १८ जना सहपाठीहरूसँगै कोरेको वर्णमालाको यात्रा बागलुङको विद्या मन्दिर मावि, काठमाडौँको शान्ति विद्या गृह हुँदै ऐतिहासिक त्रिचन्द्र कलेज र भारतको पुनास्थित एससीसी कलेजबाट बीए (स्नातक)को बौद्धिक उचाइसम्म पुग्दा एक अद्भूत गाथा बन्यो ।
ऐतिहासिक एसएलसी सफलता: २०२२ सालको एसएलसी परीक्षामा शतप्रतिशत नतिजा ल्याउने ऐतिहासिक समूहमा द्वितीय श्रेणीमा उत्तीर्ण भई पुलाचौरको विशाल आकाशबाट एसएलसी पास गर्ने दोस्रो नक्षत्र अनि जिल्लाकै छैटौँ प्रतिभा बन्नु पुलाचौरवासीकै लागि गौरवको विषय थियो; त्यो अन्धकार विरुद्धको एउटा बलियो विद्रोह थियो ।
पुलाचौरकै आँगनमा ज्ञानको ज्योति : शिक्षाको त्यो उज्यालोलाई आफ्नै पोल्टामा मात्र सीमित नराखी धौलागिरि प्रावि (हालको मावि, सिङ्गा), जनकल्याण प्रावि (हालको मावि, पुलाचौर) र बेनी सामुदायिक हालको माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा ज्ञानको ज्योति छर्दै उहाँले हजारौँ चेतनाका आँखाहरू उघार्नुभयो । पुलाचौरको जनकल्याण माविलाई सिञ्च्दै उहाँले जुन शैक्षिक सुगन्ध छर्नुभयो, त्यो आज पनि त्यहाँका भित्ताहरूमा गुञ्जिरहेको छ ।

३. अनुशासन र निष्ठा : सैन्य सेवादेखि सहकारीको पारदर्शितासम्म
जीवनको पाठशालामा अनुशासनको कठोर परीक्षा दिन उहाँले भारतीय सेनाको सेकेन्ड लेफ्टिनेन्टको कठिन तालिम (साढे ५ महिनाभन्दा बढीको कठोर सैन्य प्रशिक्षण) सफलतापूर्वक पूरा गर्नुभयो । सैन्य सेवाले उहाँलाई बन्दुक र वर्दी मात्र होइन, मातृभूमिको अगाध प्रेम र दृढ अनुशासनको अर्को पाठ सिकायो । पराई मुलुकको वैभवभन्दा आफ्नै मातृभूमि र पुलाचौरको माटोको सुगन्ध प्रिय ठानेर पुन : गाउँमै फर्कनु उहाँको निष्ठाको परिचय हो । त्यस्तै, जिल्ला सहकारीको लेखापालका रूपमा निष्कलङ्क हिसाब किताब राख्ने उहाँका हातहरूले समाजको आर्थिक प्रणालीलाई पनि उत्तिकै पारदर्शिताको दिशा दिए ।
४. राजनीतिक जीवन र निस्वार्थ समाजसेवा : पदत्याग र निष्कलङ्कताको अनुपम उदाहरण
राजनीतिको धमिलो पानीमा पनि सफा ऐना जस्तै टल्किनु रूपनारायण श्रेष्ठको जीवनको अर्को ठूलो विशेषता हो । पुलाचौर र समग्र म्याग्दीको राजनीतिक धरातललाई उहाँले सधैँ जनसेवाको माध्यम बनाउनुभयो ।
राजनीतिक पदहरू :
२०३४ साल : पुला पञ्चायतको युवक सङ्गठनको निर्विरोध अध्यक्ष
२०३६ साल : उपप्रधानपञ्च
२०४३ साल : प्रधानपञ्च
सामाजिक सेवा : रेडक्रस म्याग्दीको उपसभापति
दलीय यात्रा : २०४८ मा राप्रपाको संस्थापक जिल्ला सचिव, जिल्ला सभापति (प्रजातान्त्रिक र संयुक्त) हुँदै २०७५ सालमा सांसद पदका लागि उम्मेदवारसम्मको यात्रा ।
सत्ता र शक्ति बदलिरहेका राजनीतिक घुम्तीहरूमा धेरै पाइलाहरू डगमगाए, तर पुलाचौरको माटोबाट दिक्षित उहाँको जनसेवाको निष्ठा कहिल्यै डगमगाएन । स्नातकसम्मको उच्च शैक्षिक योग्यता, सैन्य अनुशासन र कमान्डिङ पावरमा उदाहरणीय नेतृत्व क्षमता हुँदाहुँदै पनि पद र अवसरको कहिल्यै पछि नलागी, राजनीतिलाई व्यक्तिगत महत्त्वाकांक्षाको सिँढी नबनाई उहाँले यसलाई समाजसेवाको पवित्र माध्यम बनाउनुभयो । राजनीतिबाट टाढा रहेर वा पदको मोह त्यागेर पनि समाजप्रतिको उत्तरदायित्व कसरी पूरा गर्न सकिन्छ भन्ने उहाँ एक जीवित उदाहरण हुनुहुन्छ ।

५. ८०औँ जन्मोत्सव र परोपकारी निष्ठा : जन्मभूमिलाई समर्पणको उपहार
उमेरको ८०औँ वसन्तमा प्रवेश गर्दा पनि रूपनारायण श्रेष्ठको मन जन्मभूमि र धर्म–संस्कृतिप्रतिको अगाध श्रद्धाले भरिपूर्ण छ । आफ्ना व्यक्तिगत खुसीहरूलाई समाज र देवस्थलमा समर्पण गर्ने उहाँको बानीले उहाँको महानतालाई अझ उच्च बनाएको छ । उहाँले आफ्नो ८०औँ जन्मोत्सवको पावन अवसरमा वर्षभरी नै विभिन्न परोपकारी कार्य गर्दा आउनुभएको छ । पुलाचौर भगवती कोट मन्दिर र कुल मन्दिरलाई खुलेर परोपकारी सहयोग प्रदान गरी पुन : एकपटक उदाहरणीय बन्नुभएको छ । उहाँले पुलाचौर भगवती कोट मन्दिरलाई सहयोग नगद रु. २०,०००।– रुपैयाँसहित विभिन्न प्रकारका त्रिशुलहरू र घन्टी अर्पण गरी जम्मा रु. ११५,१००।– (एकलाख पन्ध्र हजार एकसय रुपैयाँ) बराबरको नगद तथा जिन्सी सहयोग अर्पण गर्नुभएको छ । उहाँले आफ्नो कुल मन्दिरमा समेत यस्तै प्रकारको भव्य र उदाहरणीय परोपकारी सहयोग पु¥याउनुभएको छ । ८० वर्षको उमेरमा पुग्दा समेत जन्मभूमिको श्रीवृद्धि, मन्दिर निर्माण र संस्कृतिको संरक्षणमा यसरी निसङ्कोच जुट्नु उहाँको आत्मीयता र उदाहरणीय निष्ठाको अद्भूत नमुना हो ।
६. पुलाचौरको इतिहास बोक्ने अजम्बरी वृक्ष :
वाक्कलाको धनी, सैन्य तालिमले कसिलो जिउडाल, कमान्डिङ पावर अनि उत्कृष्ट नेतृत्व क्षमता भएका रूपनारायण श्रेष्ठ पुलाचौरको माटो र समग्र म्याग्दीको इतिहास बोक्ने एउटा अजम्बरी वृक्ष हुनुहुन्छ, जसको छहारीमा कैयौँ पुस्ताले ज्ञान, अनुशासन, धर्म र संस्कारको शीतल हावा पाएका छन् । पुलाचौर माथिको डाँडामा उभिएर उहाँको जीवनतर्फ फर्केर हेर्दा लाग्छ— यो माटोले केबल एक मानिस जन्माएको छैन, एउटा जीवित इतिहास जन्माएको छ । हिजोका दिनमा गाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माणका लागि आवश्यक परेको जग्गा व्यवस्थापन र सहजीकरणमा उहाँले खेल्नुभएको अहम् भूमिकालाई पुलाचौरवासीले सधैँ आदरपूर्वक सम्झिरहनेछन् । उहाँको निष्कलङ्क यात्रा, शिक्षाप्रतिको अगाध प्रेम, सामाजिक उदारता र जन्मभूमिप्रतिको असीम निष्ठा आउने हरेक पुस्ताका लागि सधैँ प्रेरणाको अजस्र स्रोत तथा एक भरपर्दो अभिभावकको रूपमा जीवित रहनेछ ।
लेखक बानियाँ, जनकल्याण मावि पुलाचौर, म्याग्दीमा अध्यापनरत हुनुहुन्छ ।




