• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

बेनी नगरपालिका म्याग्दीको आयोजनामा समुदायस्तरमा नसर्ने रोगको स्क्रिनिङ क्याम्प तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन हुने भएको छ । यसैक्रममा मङ्गलवार नगरपालिकाको सभाहलमा पत्रकारसँग भेटघाट तथा अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरेर नसर्ने रोगको शिविर सम्बन्धी विषयमा जानकारी गराइएको हो ।

कार्यक्रममा समुदायस्तरमा नसर्ने रोग सम्बन्धी स्क्रिनिङ तथा जनचेतनाको कार्यक्रम सञ्चालनको बारेमा बेनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदीले आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । सोही अवसरमा चालु आर्थिक वर्ष २०८२÷०८३ को हालसम्म नसर्ने रोगको उपचारमा सहुलियत दिनका लागि विभिन्न ८० जना बिरामीहरुलाई नगरपालिकाको कार्यालयबाट सिफारिस गरिएको जनाइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले १५ गतेबाट ३० गतेसम्म बेनी नगरपालिकाको विभिन्न स्थानमा नसर्ने रोगको स्क्रिनिङ क्याम्प सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले स्वास्थ्यचौकी नभएको स्थान र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका टोल वस्तीमा समेत नसर्ने रोगको शिविर सञ्चालन गरी सर्वसाधारण, नागरिकहरुमा स्वास्थ्य अवस्थाको पहिचान गरी उपचार तथा आवश्यक परामर्श र माथिल्लो स्वास्थ्य संस्थामा रिफर सेवा उपलब्ध गराइने बताउनुभयो ।

बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले नेपाल सरकारले स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेकाले त्यसको भरपुर उपयोग गर्नुपर्ने बताउँदै नगरपालिकामार्फत यसअघि नै हरेक महिनाको १५ गते एनसिडी डेका रुपमा नगरका सबै स्वास्थ्य संस्थाहरुमा नसर्ने रोगको स्क्रिनिङ क्याम्प सञ्चालन गरिएको बताउनुभयो । आगामी ३० गतेसम्म सञ्चालन हुने नसर्ने रोगको शिविरमार्फत ३० वर्षदेखि माथिका सबै नागरिकहरुको स्वास्थ्य परीक्षण गरी नसर्ने रोगको दर घटाउन पहल गरिने बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले नसर्ने रोगबाट राष्ट्रिय जीवनमै पार्न सक्ने असरलाई न्यूनीकरण गर्नका लागि नसर्ने रोगको स्क्रिनिङ क्याम्पलाई समुदायस्तरमा सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले फागुन महिनाभरी नसर्ने रोगको शिविर सञ्चालन गरेर नागरिकहरुको उपचार गर्नका लागि देशैभर अभियान सञ्चालन हुने भए पनि यसवर्ष निर्वाचनको कारणले गर्दा माघ महिनामै कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीको अध्यक्षता र जनस्वास्थ्य अधिकृत बालकुमारी पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगरपालिकाको उपसचिव एवं शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख क्षेत्रबहादुर भण्डारी, बेनी नगरपालिकाको प्रवक्ता एवं वडानम्बर ७ बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ र ८ नम्बर वडाका अध्यक्ष उत्तमकुमार कर्माचार्यको विशेष उपस्थिति रहेको थियो ।

नसर्ने रोगको जोखिमबाट नेपालजस्ता विकासोन्मुख राष्ट्रहरु धेरै प्रभावित रहेका छन् । पछिल्लो समय समुदायस्तरमा प्रेसर, सुगर, क्यान्सर, मृगौला फेल हुने, मुटु रोगलगायत विभिन्न स्वास्थ्य समस्याहरु बढ्दै गएका छन् । हिमाली जिल्ला म्याग्दीमा पनि नसर्ने रोगका बिरामीहरु दिनहुँ बढेका छन् ।