• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीको गृहजिल्ला म्याग्दीमा प्रतिमा निर्माण भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीद्वारा जिल्लाको रघुगंगा गाउँपालिका ३ पिप्लेमा जन्मिनुभएकी शाहीको सम्मानस्वरुप प्रतिमा बनाएर सार्वजनिक गरिएको हो ।

म्याग्दीबाट प्रदेश हुँदै राष्ट्रियस्तरमा पुगेर भलिबल खेलको विकास तथा प्रवद्र्धनमा अतुलनीय योगदान पु¥याएको भन्दै कप्तान शाहीको सम्मानमा प्रतिमा बनाइएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । उक्त प्रतिमाको बुधवार एक समारोहबीच बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले अनावरण गर्नुभयो । प्रतिमालाई अहिले जिल्ला खेलकुद विकास समितिको सभाहलमा राखिएको छ ।

जिल्ला खेलकुद विकास समितिको अगुवाइमा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग सङ्कलन गरी करिब नौलाख रुपैयाँको लागतमा कप्तान शाहीको प्रतिमा निर्माण गरिएको हो । प्रतिमालाई जिल्ला सदरमुकाम बेनीबजारको उपयुक्त स्थानमा सबैले देख्ने गरी स्तम्भ बनाएर प्रतिस्थापन गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । राष्ट्रिय महिला भलिबल टिमका कप्तान शाहीले भलिबल खेलको विकासमा पु¥याउनुभएको योगदानको कदर गर्दै बनाइएको प्रतिमाले जिल्लामा खेलकुदको विकास र पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा कप्तान शाहीले आफ्नो सम्मानमा प्रतिमा बनेकोमा खुशी व्यक्त गर्दै निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले प्रतिमा निर्माणले महिला खेलाडीलाई हौसला मिलेको बताउँदै आगामी दिनमा भलिबल खेलको विकास तथा खेलाडी उत्पादनमा पनि सहयोग पुग्नेमा जोड दिनुभयो । सोही अवसरमा कप्तान शाहीलाई पोखराको ज्ञानुबाबा आवासीय माध्यमिक विद्यालयले दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

प्रतिमाको अनावरण गर्दै नगर प्रमुख केसीले अरुणा शाहीको सम्मानमा बनेको प्रतिमालाई अब बेनीबजारमा उपयुक्त स्थान पहिचान गरी स्तम्भ निर्माण गरेर प्रतिस्थापन गरिने बताउनुभयो । उहाँले भलिबल टिमका कप्तान शाहीको सम्मानमा बनाइएको प्रतिमाले जिल्लाको खेल पर्यटनको विकास गर्न तथा महिला खेलाडीलाई खेल क्षेत्रमा अगाडि बढ्न प्रेरित र प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत चिनाउने अन्य खेलाडीहरुको पनि प्रतिमा निर्माण गरी सम्मान गरिने बताउनुभयो ।

सोही कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रतिमा निर्माणले जिल्लाका महिला खेलाडीमा ऊर्जा थपिएको बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठले बेनी नगरपालिका–८, कालीपुलको बसपार्क क्षेत्रमा जग्गा व्यवस्थापन गरेर प्रतिमालाई स्थायी रूपमा स्तम्भमा राखिने जानकारी दिनुभयो । अरुणा शाहीले नेपाली महिला भलिबललाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन र उपाधि दिलाउनको लागि नेतृत्वदायी भूमिका निर्वाह गरेकाले सम्मानस्वरूप प्रतिमा बनाइएको उहाँको भनाइ छ ।

सन् २०१३ मा काठमाडौँमा सम्पन्न माल्दिभ्स विरुद्धको मैत्रीपूर्ण भलिबल खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएकी शाहीले टोलीको कप्तानी सम्हालेपछि नेपालले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुईवटा स्वर्ण, दक्षिण एसियाली खेलकुद (साग)मा ऐतिहासिक रजत र काभा वुमन्स भलिबल नेसन्स लिगमा रजतपदक जितेको थियो । उहाँकै नेतृत्वमा नेपालले इतिहासमा पहिलोपटक भारतलाई पराजित गरेको थियो । डेढ दशकदेखि भलिबल खेलमा सक्रिय शाहीले ’एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड’लगायत थुप्रै प्रतिष्ठित सम्मानहरु प्राप्त गर्नुभएको छ ।

कार्यक्रममा ज्ञानुबाबा आवासीय मावि पोखराका संस्थापक शुभकन्या गुरु, बेनी नगरपालिका ७ नम्बर वडाका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठले अध्यक्षता र कोषाध्यक्ष नगेन्द्र मल्लले सञ्चालन गर्नुभएको कार्यक्रममा सदस्य सोहन श्रेष्ठले स्वागत गर्नुभएको थियो ।