‘महिला वर्गको समृद्धि, सशक्तिकरण र आर्थिक उन्नति’ भन्ने मूल नारासहित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार बेनीमा १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । म्याग्दीको सदरमुकाम बेनीबजारमा महिलाहरुको आफ्नै नेतृत्व र व्यवस्थापनमा सञ्चालित सहकारीले विभिन्न कार्यक्रमसहित साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभामा संस्थाका अध्यक्ष सुगम श्रेष्ठले संस्थागतसहित प्रगति र कोषाध्यक्ष कमला खत्री जिसीले प्रस्ुतत गर्नुभएको आर्थिक प्रतिवेदन साधारणसभाको बन्दसत्रमा छलफल गरी पारित भएको छ । वि.सं. २०६८ सालमा स्थापना भएको दिदीबहिनी सहकारीमा अहिले कुल ८ सय ६३ जना शेयर सदस्यहरु आबद्ध छन् भने गत आर्थिक वर्षको मसान्तसम्म तीन करोड ६१ लाख ८५ हजार रुपैयाँ शेयर पुँजी रहेको छ ।

यसैगरी गएको आवसम्म संस्थाले कुल आठ करोड २६ लाख ९२ हजार तीनसय ७१ रुपैयाँ ६६ पैसा ऋण लगानी, सात करोड २२ लाख ७५ हजार दुईसय ५० रुपैयाँ ४५ पैसा बचत एवं निक्षेप सङ्कलन गरेकोमा ७५ लाख ५० हजार २५ रुपैयाँ ८१ पैसा जगेडा कोष र २८ लाख ८३ हजार तीनसय ९८ रुपैयाँ ३२ पैसा विभिन्न कोषमा रहेको कोषाध्यक्ष जिसीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

१५औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले सहकारी संघसंस्थाले आर्थिक कारोबारसँगै उत्पादन तथा व्यावसायिकमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान सन्दर्भमा सहकारीहरुले बचत र ऋणको कारोबार मात्र नभई समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

बेनी नगरपालिकाका नगर उपप्रमुख एवं सहकारीका पूर्व अध्यक्ष ज्योति लामिछानेले दिदीबहिनी सहकारीले स्थापनाकालदेखि नै आर्थिक कारोबारसँगै सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो । उहाँले पछिल्लोपटक सहकारी संघसंस्थाहरुमा देखिएको समस्या समाधान गरी व्यवस्थापनका लागि नगरपालिकामार्फत आवश्यक पहल गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र सहकारीका शेयर सदस्य प्रमिला जोशी श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । दिदीबहिनी सहकारीका पूर्व अध्यक्ष एवं सामाजिक अभियन्ता जमुना आचार्यले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम संस्थाका अध्यक्ष सुगम श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष जगतकुमारी खत्रीको स्वागत र सचिव अम्बिका श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

साधारणसभाको अवसरमा संस्थाले सञ्चालन गरिरहेको सामाजिक कार्यअन्तर्गत मुठ्ठीदान अभियान कार्यक्रममार्फत विभिन्न तीन जनालाई नगद पाँचहजार पाँचसय ५५ रुपैयाँको दरले सहयोग हस्तान्तरण गरिएको सहकारीले जनाएको छ । त्यस्तै संस्थामा रहेर उत्कृष्ट कार्य गरेको भन्दै लेखापाल शान्ता जिसी बरुवाललाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ भने संस्थामा आबद्ध भएर उत्कृष्ट कारोबार गर्ने तथा प्लस टु मा उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने शेयर सदस्यका एकएक जना छोराछोरीलाई समेत सम्मान गरिएको थियो ।

सहकारीको मुठ्ठीदान सङ्कलन अभियान अन्तर्गत जलजला गाउँपालिका ३ पर्वतकी सुनिता परियार र जेनिशा रेग्मी तथा बेनी नगरपालिका ८ बेनीबजार म्याग्दीका भद्रबहादुर खत्रीलाई नगद र खाद्यान्न हस्तान्तरण गरिएको छ भने एकल महिला प्रोत्साहन कार्यक्रमबाट २५ जनालाई सम्मान गरिएको छ । त्यस्तै सहकारीमा साधारण बचततर्फ विजयमुल श्रेष्ठ, लखपति बचतमा सारिका थापामगर, पेन्सनतर्फ अनुपा श्रेष्ठ, बालबचतमा विनायक सुवेदी, सुनौलो बचतमा लक्ष्मी गिरी आवधिकमा रविना भट्टचन पूर्जा, पर्व बचमा चन्द्रकला शर्मा सुवेदी, क्रमिक बचतमा प्रमिला जोशी श्रेष्ठ, सर्वाधिक हाँजिर गर्नेतर्फ सकुन्तला श्रेष्ठ, असल कारोबारकर्ता शर्मिला जोशी श्रेष्ठ, असल ऋणी डिलबहादुर खत्री र शेयर सदस्यका छोराछोरीतर्फ उत्कृष्ट अङ्क ल्याउनेमा छात्रा सक्षम कटुवाल क्षत्री र छात्रा आरोशा शर्मा रहेका छन् ।



