‘लोक संस्कतिको संरक्षण, महिला सशक्तिकरण र आत्मविश्वास अभिवृद्धिका लागि एक सार्थक प्रयास’ भन्ने मूल नारासहित बिहीबार मादल बजाउने तालिम सम्पन्न भएको छ । मालिका गाउँपालिकाको समन्वय, प्रगतिशिल आमा समूह दिच्यामको आयोजना, मिलन म्याग्दीको समन्वय तथा प्राविधिक सहयोग र टेवाको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
मालिका गाउँपालिका वडानम्बर ६ दिच्यामस्थित प्रगतिशिल आमा समूहको सभाहलमा स्थानीय महिलाहरुलाई लक्षित गरी मादल बजाउने सिप विकास सम्बन्धी विषयमा तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् । समुदायस्तरमा आयोजना हुने विभिन्न मेलापर्व, उत्सवलगायत सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरुमा मादल बजाउने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थानीय आमा समूहमा आबद्ध महिलाहरुलाई सहभागी गराएर मादल बजाउन सिकाउने तालिम आयोजना गरिएको थियो ।

यही साउन महिनाको २१ गतेबाट सुरु भएको तालिमका सहभागीहरुलाई स्थानीय लोककला तथा संस्कृतिमा आधारित रहेर मादल बजाउन सिकाइएको थियो । सहभागी आमा समूहका महिला दिदीबहिनीहरुलाई गाउँघरमा गाइने लोकगीत, भजनकिर्तन, झ्याउरे, रत्यौली, तीजगीतलगायत स्थानीय भाकाको विभिन्न ताल र विधाहरुमा मादल बजाउन सिकाइएको आयोजक संस्था प्रगतिशिल आमा समूहले जनाएको छ । तालिम अवधिभरमा सहभागी महिलाहरुले प्रयोगात्मक अभ्यासका साथै तालिम कार्यक्रममा प्रस्तुती समेत देखाएका थिए ।

तालिममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिका पूर्व कार्यसमिति सदस्य अमित विश्वकर्मा र म्याग्दीका पूर्व जिल्ला कार्यसमिति सदस्य दिनेश पुनले मादल बजाउन सिकाउनुभएको थियो । तालिमको समापनसत्रलाई सम्बोधन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले आउँदा दिनमा गाउँपालिकामार्फत आमा समूहलाई लक्षित गरी मादल बजाउन सिकाउनेलगायत तालिमहरु सञ्चालन गरिने बताउनुभयो । उहाँले मालिका गाउँपालिकाले विभिन्न वस्ती र ग्रामीण क्षेत्रमा धेरै तालिमहरु सञ्चालन गरिसकेको बताउँदै अब तालिममा सिकेको ज्ञान, सिपलाई आयआर्जनसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

मिलन म्याग्दीका निवर्तमान अध्यक्ष दिलमाया बिटालुले महिलाहरुलाई सिपमूलक तथा आयआर्जनसँग जोड्नका लागि आमा समूहको आवश्यकता र चाहनाअनुसार संघसंस्थाको सहयोगमा तालिम सञ्चालन गरिएकाले मादल बजाउने तालिममा सिकेको सिपलाई निरन्तर रुपमा प्रयोग गर्न सुझाव दिनुभयो । तालिमका प्रशिक्षक तथा बाद्यवादक अमित विश्वकर्माले मादल बजाउने तालिम अहिलेका लागि आधारभूत भएकाले आगामी दिनमा पुनर्ताजगीसहित एड्भान्स लेबलको तालिमको आवश्यकता देखिएकोमा जोड दिनुभयो ।

तालिमको समापनसत्र आयोजक प्रगतिशिल आमा समूहका अध्यक्ष निर्मल रोकाको अध्यक्षता र सचिव लक्ष्मी कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो भने सहभागी यमुना अर्मजाले अनुभव सुनाउनुभएको थियो । तालिममा प्रगतिशिल र मिलीजुली आमा समूहबाट २१ जनाले सहभागिता जनाएका थिए । कार्यक्रमका अतिथि र प्रशिक्षकलाई सहभागीहरुबाट स्थानीय उत्पादनहरु कोसेलीको रुपमा प्रदान गरेर विदाई समेत गरिएको थियो ।




