उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका वडानम्बर ७ चिमखोलास्थित निर्माणाधीन बगरखोला जलविद्युत आयोजनाको निर्माणकार्य ठप्प भएको छ । यही साउनको दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले सडक भत्काएपछि जलविद्युत आयोजनाको निर्माणकार्य रोकिएको हो ।
मोना हाईड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित ५ दशमलव ५ मेगावाट क्षमताको जलविद्युत आयोजनामा गएको १० गते परेको भीषण वर्षासँगै आएको बाढीपहिरोको कारणले गर्दा आयोजनाको निर्माणस्थलसम्म पुग्ने सडक आवतजावत गर्न नमिल्ने गरी भत्किएको छ । सडक भत्किएर आवतजावत गर्न नमिल्ने भएपछि आयोजनाको सम्पूर्ण काम रोकिएको मोना हाईड्रोपावर लिमिटेडका सामाजिक सहजकर्ता नवीन पुनले जानकारी दिनुभयो ।
चिमखोला गाउँदेखि नै आयोजनाको निर्माण स्थलसम्म बनाइएको सडक भीषण वर्षासँगैको बाढी र पहिरोले भत्काएको वडा कार्यालयले जनाएको छ । वर्षात्को समय असारदेखि असोज महिनासम्म नयाँ उत्खनन् तथा ठूला साधनहरुको प्रयोगले हुने क्षति र विनाशलाई मध्यनजर गरी आयोजनाले निर्माणकार्य रोकेको थियो । तर साउन १० गते परेको भारी वर्षाले सडक समेत भत्काएपछि थप समस्या सिर्जना भएको छ । रघुगंगा ७ नम्बर वडाका वडा अध्यक्ष थक बहादुर पाईजाले बाढीपहिरोले सडक भत्किएको र निर्माणकार्य पनि शुन्य रहेको बताउनुभयो ।
यसअघि समेत गएको वैशाख दोस्रो साता परेको आकस्मिक वर्षा र लगत्तै आएको बाढीपहिरोले बगरखोला जलविद्युत आयोजनामा ठूलो क्षति पु¥याएको थियो । बाढीपहिरोको क्षतिका कारणले त्यसबेला पनि आयोजनाको सम्पूर्ण निर्माणकार्य बन्द भएको थियो । वर्षा र बाढीपहिरोले सडक भत्काउनुका साथै सडकको आसपासमा रहेका स्थानीयका घरहरु समेत उच्च जोखिममा परेका छन् ।

हिमाली जिल्ला म्याग्दीको उच्च लेकाली क्षेत्र भएकाले पनि चिमखोलामा आयोजनाको निर्माणस्थल भन्दामाथि उच्च हिमाली भेग र वनजङ्गल क्षेत्र रहेकाले अत्यधिक वर्षा तथा हिमपात हुँदा पहिरो आइरहने गर्दछ । साथै असारदेखि असोजसम्म मनसुनको समय रहेकाले नेपाल सरकारले समेत यो समयमा निर्माणजन्य काम नगर्ने र नगराउने भएको हुँदा हाल निर्माणकार्य पूर्ण रुपमा रोकिएको आयोजनाले जनाएको छ ।



