‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नारासहित बुधवार म्याग्दीमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । दिवसको अवसर पारेर लागूऔषध नियन्त्रणमा युवाको भूमिका र जिम्मेवारीका विषयमा सहभागीहरुको बीचमा अन्तत्र्रिmया तथा छलफल गर्नुका साथै चर्चा गरिएको हो ।
म्याग्दीको मालिका गाउँपालिका वडानम्बर ६ दिच्याममा क्रियाशील दिच्याम युवा क्लबको आयोजना, वडा कार्यालयको समन्वय र मिलन म्याग्दीको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको थियो । ग्रामीण भेगका किशोरकिशोरी तथा युवाहरुलाई लागूपदार्थ दुव्र्यसनीमा लाग्नबाट जोगाउन र समुदायस्तरमा सचेतना फैलाउने उद्देश्यसहित अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले पछिल्लो समय लागूपदार्थको दुव्र्यसनीमा अधिकांश किशोरकिशोरी उमेर समूहका धेरै व्यक्तिहरु संलग्न हुने गरेकाले अभिभावकहरु सचेत हुनपर्ने बताउनुभयो । उहाँले गाउँपालिकामार्फत विभिन्न समयमा ग्रामीण वस्तीहरुमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको बताउँदै किशोरकिशोरी तथा युवा पुस्तालाई कुलतमा फस्नबाट जोगाउनको लागि सरोकारवाला निकाय सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
मिलन म्याग्दीका निवर्तमान अध्यक्ष दिलमाया बिटालुले युवापुस्ता समाज विकासको मानव पुँजी भएकाले उनीहरुलाई गलत क्रियाकलापमा लाग्नबाट रोकेर सही मार्गमा हिँडाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय दरबाङका प्रमुख प्रहरी निरीक्षक रवीन्द्र कार्कीले लागूपदार्थको दुव्र्यसनी, युवाको भूमिका, गाँजाको खेती र ओसारपोसार, सामाजिक कुरितीलगायत विषयमा सहजीकरण गर्नुभएको थियो ।

दिच्याम युवा क्लबका अध्यक्ष भीम अर्मजाको अध्यक्षता र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा मालिका ६ नम्बर वडाका वडा सदस्य नगेन्द्र निउरे, मादल बजाउने तालिमका प्रशिक्षक दिनेश पुन र स्थानीय आमा समूहको उपस्थिति रहेको थियो ।



