• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

भदौ ३१, २०८२ मङ्गलवार । प्रताप बानियाँ

म्याग्दी– वर्षासँगै पहिरो खसेर दुई दिनदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक मङ्गलवार बिहानदेखि सुचारु भएको छ । सडकभन्दा माथिबाट खसेको सुख्खा पहिरो र ठूल्ठूला चट्टानले आइतबारदेखि बन्द भएको सडक पहिरो पन्छाएपछि पुनः सञ्चालनमा आएको हो ।

बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभीरमा खसेको पहिरो पन्छाएपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । सडक योजनाको पहलमा मुस्ताङस्थित नेपाली सेनाको ईन्द्रबक्स गणको सहयोगमा बिष्फोटक पदार्थको प्रयोग गरी सडकमा रहेका ठूला चट्टानहरु फुटाएर सडक खुलाइएको मुस्ताङका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो ।

बीच सडकमा खसेका ठूला चट्टान (ढुङ्गा)लाई विष्फोटक पदार्थको सहयोगमा फुटाएर डोजरले सफा गरी पहिरो पन्छाएपछि गएराति साढे १० बजेबाट सडक खुलेको प्रहरी नायव उपरीक्षक लामाले जानकारी दिनुभयो । बेनी–जोमसोम–कोरला सडक योजनाका प्राविधिक, कर्मचारी, नेपाली सेना र प्रहरीसहित सुरक्षाकर्मीको टोलीले राति अबेरसम्म पहिरो हटाउने काम गरेर सडक खुलाएका हुन् । एकतर्फी रुपमा भए पनि सडक खुलेपछि म्याग्दीको काभ्रे क्षेत्र र मुस्ताङको घाँसामा रोकिएका सवारीसाधनहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

पहिरो खसेर सडक अवरुद्ध हुँदा मुस्ताङबाट स्याउ र आलु बोकेका मालवाहक ट्रक तथा चिनिया सामान लिएर कोरला नाकाबाट नेपालतर्फ आएका कन्टेनरहरु घाँसामै रोकिएका थिए । यसैगरी सोह्रश्राद्धको लागि मुस्ताङको कागबेनी र दर्शन गर्न प्रसिद्ध मुक्तिनाथ मन्दिरतर्फ हिँडेका तीर्थयात्रीहरु, मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक, कर्मचारी, स्थानीयवासीलगायत काभ्रेभीरमा रोकिनुपरेको थियो । पहिरो पन्छाएर सडक सञ्चालनमा आएपछि दुवैतर्फ रोकिएका सवारीसाधन तथा मानिसहरु आ–आफ्नो बाटो लागेको बेनी–जोमसोम–कोरला सडक योजनाका इन्जिनियर विष्णु चापागाईँले जानकारी दिनुभयो ।

रसुवा जिल्लाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी सीमा नाका बाढीपहिरोले अवरुद्ध भएपछि ती दुई नाकाबाट मालसामान ढुवानी गर्ने कन्टेनर तथा ठूला ट्रकहरु पनि अहिले मुस्ताङ–तिब्बत कोरला नाकाबाट आवतजावत गर्न थालेका छन् । नेपालीहरुको मुख्य चाडहरु दसैँतिहार नजिकिँदै गर्दा नेपाली बजारमा दैनिक उपभोग्य खाद्यान्नलगायत मालसामानहरु ल्याउन सुरु भएसँगै बेनी–जोमसोम–कोरला सडकखण्डमा सवारीसाधनको चाप बढेको छ । यस खण्डमा अहिले दैनिकजसो सानाठूला गरेर ५ सयभन्दा बढी सवारीसाधनहरु गुड्ने गर्दछन् ।

पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाकासम्मको दूरी कुल २ सय २ किलोमिटर रहेको छ भने बेनी–जोमसोम सडक ७६ किमी तथा जोमसोमदेखि कोरलासम्म १ सय १५ किमी दूरी रहेको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत रहेको बेनी–जोमसोम–कोरला सडक योजनामार्फत सडक स्तरोन्नति र कालोपत्रे गर्ने तथा ठाउँठाउँमा पक्की बेलिब्रिजलगायत संरचनाहरु निर्माणको काम भैरहेको छ । उत्तर–दक्षिण जोड्ने नेपालको सबैभन्दा छोटो नाकाको रुपमा रहेको बेनी–जोमसोम–कोरला सडक गण्डकी प्रदेशको लाइफलाइन मानिन्छ ।