प्रभातफेरी र्याली, सन्देशमूलक भिडियो डकुमेन्ट्री प्रस्तुत र अन्तर्क्रिया
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधवारदेखि म्याग्दीमा पनि मनाउन सुरु भएको छ । ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता ः पीडितको संरक्षण, दण्डहिनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित यस वर्षको अभियान मनाउन थालिएको हो ।
एकीकृत सेवा कार्यालय म्याग्दी, मिलन म्याग्दी र शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समिति म्याग्दीको संयुक्त आयोजना तथा आर्थिक सहयोग, जिल्ला समन्वय समिति, बेनी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दी, गैरसरकारी संस्था महासंघ म्याग्दी शाखा, कदम म्याग्दी, संगम म्याग्दी र ईन्सेक म्याग्दीको समन्वयमा १६ दिने अभियानको कार्यक्रम गरिएको हो ।

कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले ‘म हिंसा गर्दिन, म हिंसा सहन्न र हिंसा भएको देखेमा प्रतिकार गर्नेछु’ भन्ने प्रतिबद्धता लेखिएको व्यानरमा हस्ताक्षर गर्दै उद्घाटन गर्नुभयो । उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हिंसा महिला वा पुरुष कसैले पनि कसैलाई गर्न नहुने बताउनुभयो । लैङ्गिक हिंसा विरुद्धको अभियान एक महत्वपूर्ण कार्यक्रम भएको उल्लेख गर्दै प्रदेश सभा सदस्य जुग्जालीले अभियानलाई ग्रामीण भेगसम्म लैजानुपर्ने र हिंसाविरुद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, नेपाली कांग्रेस म्याग्दीका सचिव भरतबहादुर रकाल, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला संयोजक सेरबहादुर केसी, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र महिला अधिकारकर्मी जमुना आचार्यले मन्तव्य व्यक्त गर्नुहुँदै लैङ्गिक हिंसाको विरुद्धमा सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक राजन कार्कीले नेपाल प्रहरीले निर्माण गरेको सन्देशमूलक भिडियो डकुमेन्ट्री प्रस्तुतीसहित लेङ्गिक हिंसा सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा बेनी अस्पतालमा सञ्चालित एकद्वारा सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)को बारेमा स्वास्थ्यकर्मी पविना पूर्जा र अल्पकालीन सेवा केन्द्र म्याग्दीको बारेमा प्रमुख साधना केसीले जानकारी गराउनुभएको थियो ।

यसअघि लैङ्गिक हिंसा विरुद्धका विभिन्न सन्देशमूलक नाराहरु लेखिएका प्लेकार्डसहित वीरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी ¥याली हुलाकचोक–न्यूरोड–क्याम्पसचोक–हस्पिटलचोक–गणेशटोल–सङ्गमचोक र बालमन्दिरचोक हुँदै जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रम एकीकृत सेवा कार्यालयका प्रमुख मिताकुमारी थापाको अध्यक्षता र स्वागत एवं मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो । गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीको विशेष उपस्थिति रहेको कार्यक्रममा म्याग्दीका निमित्त प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्य, जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकाय, संघसंस्था, विभिन्न विद्यालयका प्रमुख तथा प्रतिनिधि र विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियानहरु सुरु भएको पाइन्छ । नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउन थालिए पनि वि.सं. २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० तारिखसम्मको दिनलाई लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको रुपमा मनाउने घोषणा गरेको थियो ।

नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । २१औँ शताब्दीमा आएर पनि महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोण, सामाजिक मूल्यमान्यता र यसबाट सिर्जित हानिकारक परम्परागत अभ्यासको कारणले महिला नेतृत्व स्वीकार हुने वातावरण अझै बन्न सकेको छैन ।





