पुस २६, २०८२ शनिवार । रुप्से न्यूज
म्याग्दी– म्याग्दी जेसीजको वर्ष २०२६ का लागि निर्वाचित नयाँ कार्यसमितिको शनिवार एक समारोहबीच २७औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । जेसीजको आयोजनामा सदरमुकाम बेनीमा एक औपचारिक कार्यक्रममार्फत नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन र शपथग्रहण गराइएको हो ।

म्याग्दी जेसीजको साधारण सभा तथा शाखा अधिवेशनबाट वर्ष २०२६ का लागि अध्यक्षमा दिनेश विश्वकर्मा, निवर्तमान अध्यक्षमा विनोद घर्ती क्षत्री, वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा डेकमाया केसी, कानुनी सल्लाहकारमा सज्जन श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षमा देवेन्द्र बहादुर घिमिरे, नवीन पौडेल, महासचिवमा गोकुल सुनार, कोषाध्यक्षमा प्रतिश श्रेष्ठ, शाखा सम्पादकमा तेजिन्द्र बहादुर खत्री र सहसचिवमा कपिल बानियाँ निर्वाचित हुनुभएको छ ।
यसैगरी अधिवेशनबाट सहकोषाध्यक्षमा अभिनेश श्रेष्ठ, उपाध्यक्षहरुमा दिनेश खत्री, सुष्मा खत्री, अरुण रेग्मी र मन्जुर कटुवाल तथा प्रकरण निर्देशकमा सुनिता श्रेष्ठ निर्वाचित हुनुभएको छ । पदस्थापन कार्यक्रमको अवसरमा नवनिर्वाचित अध्यक्ष विश्वकर्मासहित पदाधिकारीहरुले पदभारग्रहण गरेका छन् । ‘एक व्यक्ति, एक वर्ष र एक पद’को रुपमा नेतृत्व हस्तान्तरण गर्ने जेसीजको नवनिर्वाचित पदाधिकारीहरुलाई गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीको प्रमुख आतिथ्यमा पदस्थापन र शपथग्रहण गराइएको म्याग्दी जेसीजले जनाएको छ ।

कार्यक्रममा वर्ष २०२५ का शाखा अध्यक्ष विनोद घर्ती क्षत्रीले नवनिर्वाचित अध्यक्ष विश्वकर्मालाई जेसीज मालासहित अध्यक्षको पद हस्तान्तरण गर्नुभएको थियो । अध्यक्ष क्षत्रीले आफ्नो कार्यकालमा साथ, सहयोग र योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गर्नुभएको थियो भने विभिन्न अवार्डहरु समेत वितरण गरिएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विश्वकर्माले जेसीजमा युवाहरुको आकर्षण बढाउने र स्थानीय तह केन्द्रीत कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

म्याग्दी जेसीजले स्थापनाकालदेखि युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ भने सन् १९९९ मा स्थापना भएको जेसीजले जिल्लामा खेलकुद, पर्यटन पवद्र्धनसहित सदस्यहरुको क्षमता विकास लगायतका विभिन्न कार्यक्रमहरूमा जोड दिएको छ । दुई चरणमा सम्पन्न कार्यक्रमको सञ्चालन निवर्तमान महासचिव देवेन्द्रबहादुर घिमिरे र पूर्व अध्यक्ष सुमन बानियाँले सञ्चालन गर्नुभएको थियो ।
म्याग्दी जेसीजका पूर्व अध्यक्ष दिनेश बानियाँले स्वागत गर्नुभएको कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु उत्तमकुमार कर्माचार्य, विनय श्रेष्ठ, खम थापा, सन्दीप खत्रीसहित जेसीजकर्मीहरुले सहभागिता जनाएका थिए ।


