पुस ३०, २०८२ बुधवार । रुप्से न्यूज
म्याग्दी– ‘उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने नारासहित बुधवारदेखि ११औं माघेसङ्क्रान्ति मेला सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, महिला उद्यम विकास समिति म्याग्दीको मुख्य आयोजनामा सदरमुकाम बेनीमा माघेसङ्क्रान्ति मेला, खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी गरिएको हो ।

११औं माघेसङ्क्रान्ति मेलाको औपचारिक कार्यक्रम सुरु हुनुपूर्व म्याग्दीको बेनीबजारमा विभिन्न जातीय तथा सामाजिक संघसंस्थाहरुको सहभागितामा बजार ¥याली गरिएको थियो । खुलामञ्चबाट सुरु भएको ¥याली वीरेन्द्रचोक–मङ्गलाघाट–हुलाकचोक–न्यूरोड–क्याम्पसचोक–हस्पिटलचोक–गणेशटोल–सङ्गमचोक–बैंकरोड भएर पुनः खुलामञ्च पुगेर उद्घाटन समारोहमा परिणत भएको छ ।

आउँदो माघ ३ गतेसम्म सञ्चालन हुने मेलामा ग्रामीण क्षेत्रका किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको प्रदर्शनी गरिनुका साथै उद्यमी प्रतियोगिता, कला प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साङ्गीतिक प्रस्तुतीलगायत विविध कार्यक्रमहरु रहेको माघेसङ्क्रान्ति मेलाका मूल संयोजक अम्बिका श्रेष्ठले जानकारी दिनुभयो ।



