• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

पुस २४, २०८२ बिहीबार । रुप्से न्यूज

म्याग्दी– पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा ईन हन्ट्सभिलबाट’ अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधिको उपाधि हासिल गर्नुभएको छ । उहाँले पृथ्वीको नजिक हुने सौर्य वायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शीर्षकमा अनुसन्धान गरी विद्यावारिधिको उपाधि प्राप्त गर्नुभएको हो ।

गौतमको अनुसन्धान सूर्यबाट निस्कने सौर्य वायु र त्यसमा हुने अस्थिरता एवं सौर्य वायुमा हुने झट्काले अन्तरिक्ष वातावरणमा पार्ने प्रभाव सम्बन्धी गहिरो वैज्ञानिक विश्लेषणमा केन्द्रित रहेको छ । विश्वविद्यालयमा रहेको अन्तरिक्ष विज्ञान विभाग तथा अमेरिकाको प्रतिष्ठित अनुसन्धान केन्द्र ‘सेन्टर फर स्पेस प्लाज्मा एण्ड एरोनमिक रिसर्च’मा विश्वप्रसिद्ध वैज्ञानिक प्रा.डा. ग्यारी जैंकको निर्देशनमा रहेर उहाँले अनुसन्धान सम्पन्न गर्नुभएको थियो ।

गौतमले अध्ययन अवधिमा अन्तर्राष्ट्रियस्तरमा उच्चस्तरीय वैज्ञानिक जर्नलहरुमा थुप्रै अनुसन्धानपत्रहरु प्रकाशित गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनहरुमा आफ्ना अनुसन्धान प्रतिवेदनहरु प्रस्तुत गरिसक्नुभएको छ । “ग्रामीण क्षेत्रको सामान्य परिवारबाट सुरु भएको मेरो यात्रा आज यहाँसम्म आइपुग्दा धेरै संघर्ष, धैर्य र निरन्तर मेहनतको लगानी छ,” उहाँले भन्नुभयो, “यो सफलता मेरो मात्र नभएर परिवार, साथीभाइ, आफन्त, शिक्षक र शुभेच्छुकहरुको साझा उपलब्धि हो ।” सुर्य र अन्तरिक्षमा हुने गतिविधिले पृथ्वीको स्याटालाईट सिस्टम, रेडियो सञ्चार, मौसम र दैनिक जीवनमा असर पार्ने भएकाले सानैदेखिको रुचि अनुसार जटिल र चुनौतीपूर्ण भए पनि अन्तरिक्ष विज्ञानको अनुसन्धानमा लागेको उहाँले जानकारी दिनुभयो ।

“सुर्यसँग सम्बन्धित कैयन अनुत्तरित प्रश्नहरु छन्, जो बुझ्न सारा विश्वका वैज्ञानिकहरु लगिपरेका छन्, मलाई पनि त्यही जिज्ञासाले यो क्षेत्रमा तानेको हो,” गौतमले थप्नुभयो, “मेरो कामले भविष्यमा सौर्य आँधी, अन्तरिक्ष मौसम र तिनको प्रभावलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्नेछ ।” अन्तरिक्ष विज्ञान तथा सौर्य वायु सम्बन्धी अनुसन्धानलाई निरन्तरता दिने गौतमको योजना छ । त्रिभुवन विश्वविद्यालयबाट भौतिक शास्त्र विषयमा स्नातक र स्नाकोत्तर तह पुरा गरेर सन् २०२२ मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्नका लागि उहाँ अमेरिकाको ‘युनिभर्सिटी अफ आलाबामा ईन हन्टसभिलको ’डिपार्टमेन्ट अफ स्पेस साइन्स’मा जानुभएको थियो ।

गौतमले अमेरिकाको सो विश्वविद्यालयको अध्ययन केन्द्रमा ‘सेन्टर फर स्पेस प्लाज्मा एण्ड एरोनोमिक रिसर्च’मा रिसर्च असिस्टेन्टको रुपमा आफ्ना अनुसन्धानहरु गर्दै आउनुभएको थियो । उहाँको नेतृत्वमा अनुसन्धानकर्ताहरु अशोक सिलवाल, बासु बराल र डा. विनोद अधिकारीको टोलीले सन् १९६८ देखि सन् २०२३ सम्म पोखरा र काठमाडौको मासिक वर्षाको तथ्याङ्कहरुलाई सौर्य गतिविधिको सम्बन्धलाई आधार मानेर गरेको अध्ययनको प्रतिवेदन एक वर्षअघि प्रकाशन भएको थियो ।