• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

असार १०, २०८२ मङ्गलवार । रुप्से न्यूज

म्याग्दी– ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार : स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित बेनी नगरपालिका म्याग्दीले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति, कार्यक्रम र बजेट ल्याएको छ । बेनी नगरपालिकाले नगरसभाको १७औं अधिवेशनमार्फत मङ्गलवार आउँदो वर्षको बजेट सार्वजनिक गरेको हो ।

जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा आयोजित १७औं नगरसभामा बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले आगामी आवको लागि कुल ७१ करोड ८० लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गरेको बजेटमध्ये चालुतर्फ ५४ करोड ९३ लाख ३० हजार र पूँजीगततर्फ १६ करोड ८६ लाख ९७ हजार रुपैयाँ बराबर रहेको छ ।

बजेटमा संघीय समानीकरण अनुदान ११ करोड ६३ लाख, संघीय राजश्व बाँडफाँड नौ करोड १३ लाख २० हजार, गण्डकी प्रदेश सरकारको समानीकरण अनुदान एक करोड ५८ लाख ८६ हजार, गण्डकी प्रदेश सरकार सवारीसाधन कर बाँडफाँडबाट एक करोड ८९ लाख ५३ हजार, संघीय सशर्त कार्यक्रम ३७ करोड ४२ लाख, गण्डकी प्रदेश सरकार सशर्त विशेष अनुदान एक करोड दुईलाख, संघीय सरकार समपुरक अनुदान ६५ लाख र संघीय सरकार विशेष अनुदान ६९ लाख रुपैयाँ रहेको छ ।

यसैगरी आन्तरिक आम्दानी चार करोड ३३ लाख ५० हजार, मालपोत रजिष्ट्रेशन बाँडफाँड ८५ लाख र चालु आर्थिक वर्षको खर्च हुन बाँकी बजेटबाट प्राप्त हुने आम्दानीलाई बजेटमा समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । यसअघि नगर सभाको अधिवेशनमा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले समग्र नगर क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट बनाइएको बताउनुभयो ।