असोज ३०, २०८२ बिहीबार । रुप्से न्यूज
म्याग्दी– मानव सेवा आश्रम बागलुङको भवन निर्माण गर्नका लागि आगामी कार्तिक तेस्रो सातादेखि महायज्ञ लगाइने भएको छ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माण तथा मानवीय स्मारक निर्माण गर्न र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना गरिएको हो ।
श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ मूल आयोजक समितिको आयोजनामा कार्तिक २१ गतेदेखि २८ गतेसम्म मानव सेवा आश्रम भवन निर्माण स्थल बागलुङ नगरपालिका ४ निरयघाटमा महायज्ञको कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । सोही क्रममा महायज्ञ मूल आयोजक समितिको अनुरोधमा जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा बुधवार म्याग्दीमा महायज्ञको बारेमा समन्वयात्मक वैठक सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति म्याग्दीले आयोजना गरेको समन्वयात्मक वैठकमा जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधि र कार्यालय प्रमुख तथा संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । वैठकलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले मानव सेवा आश्रम बागलुङका लागि बेनी नगरपालिका र मंगला गाउँपालिकाले एकएक लाख रुपैयाँ बजेट विनियोजन गरेको आफूले जानकारी पाएको बताउनुभएको थियो ।
कार्यवाहक प्रमुख खत्रीले जिल्लास्थित स्थानीय तहले महायज्ञकै लागि भनेर आर्थिक सहयोग गर्न नियम अनुसार नमिल्ने अवस्था रहेपनि अरु हिसाबले सहयोगका लागि आफूले समन्वय गर्ने बताउँदै अन्य संघसंस्था र व्यक्तिहरुले पनि सहयोग गर्ने जानकारी समेत दिनुभयो । मानव सेवा आश्रमले विपद्मा परेका सडक पेटीमा जीवन बिताउन बाध्य मानवहरुको उत्थानमा आवश्यक भूमिका खलिरहेको हुँदा मानव सेवा आश्रमले थालनी गरेको भवन निर्माणलाई पूर्णता दिन आयोजित महायज्ञमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
सोही कार्यक्रममा बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले म्याग्दीको सबैभन्दा नजिकमा बागलुङको मानव सेवा आश्रम रहेकाले नगरपालिमार्फत आवश्यक सहयोग गर्ने गरिएको बताउनुभयो । उहाँले जुन उद्देश्यले महायज्ञ आयोजना गरिएको छ, सो कामले पूर्णता पाओस् भन्ने शुभकामना व्यक्त गर्दै मानवीय सेवामा सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय धर्मकर्ममा मानव समुदाय तनमन र वचनसहित इच्छुक देखिएको हुँदा मावन सेवा आश्रम बागलुङको निर्माणाधीन भवनलाई पूर्णता दिन आयोजित महायज्ञमा पनि सबै क्षेत्रबाट सहयोग हुने अपेक्षा समेत व्यक्त गर्नुभयो ।

गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दिपक पौडेलले महायज्ञमा आर्थिक सङ्कलन गर्नको लागि म्याग्दी जिल्लास्थित विभिन्न संघसंस्थासँग आवश्यक समन्वय र सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी निलकण्ठ शर्मा, गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य–सचिव सम्मरबहादुर थापा र मानव सेवा आश्रम भवन निर्माण समिति अध्यक्ष निर्मलबहादुर श्रेष्ठले बोल्नुभएको थियो । महायज्ञ मूल आयोजक समितिका सचिव युक्तप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रमको जब्बरबहादुर लामिछानेले समापन गर्नुभएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का, म्याग्दीको मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीसहित जिल्लास्थित विभिन्न सरकारी कार्यालय र संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । महायज्ञमा १० करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य राखिएको छ । बागलुङको मानव सेवा आश्रममा बागलुङसहित म्याग्दी र पर्वतका गरी कुल ६५ जना आश्रित रहेका छन् ।


