यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनलाई लक्षित गर्दै हिमाली जिल्ला म्याग्दीमा क्रियाशील राजनीतिक दलहरुको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम जारीरहेको छ । स्वतन्त्र उम्मेदवारसहित १२ वटा राजनीतिक दल तथा उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेपछि जिल्लाको गाउँवस्ती र टोलस्तरमा पुगेर घरदैलो गरिरहेका छन् ।
फागुन ४ गते अर्थात् सोमबारदेखि मात्रै औपचारिक कार्यक्रम गर्न पाइने निर्वाचन आचारसंहितालाई मध्यनजर गरी दल तथा उम्मेदवारले त्यसअघि जिल्लाको विभिन्न टोल र वस्ती तथा गाउँघरमा घरदैलो एवं मतदाता भेटघाटको कार्यक्रम सञ्चालन गरेका छन् । जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (विप्लव) सहित स्वत्रन्त्र उम्मेदवार महाविर पुनले चुनाव प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
यसैक्रममा नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले शनिवार मंगला गाउँपालिका र बेनी नगरपालिकाको विभिन्न स्थानमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शनिवार बिहान मंगला गाउँपालिका–१, पूर्णगाउँमा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभामा प्रत्यक्षतर्फका उम्मेदवार हरिकृष्ण श्रेष्ठले स्थानीयवासीको माग र आवश्यकतालाई पहिलो प्राथमिकता दिएर क्रमशः पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
‘तपार्इँहरुको आवश्यकतालाई नजिकबाट हेरेको छु, मैले समस्या समाधानका लागि काम सुरु गरिसकेको छु’ प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रेष्ठले भन्नुभयो । उहाँले मंगला गाउँपालिकाभित्र एमालेले विगतदेखि नै काम गर्दै आइरहेको बताउँदै आसन्न निर्वाचनमा आफू र एमाले पार्टीलाई भोट दिएर थप काम गर्ने अवसर दिन अनुरोध गर्नुभयो । यसैगरी चुनावी अभियान अन्तरगत बेनी नगरपालिका–१० वाखेत, पाल्लेखेत र वडा नं ९ काउँलेगौडामा आयोजित भेटघाट कार्यक्रममा स्थानीय समुदायको मागलाई सम्बोधन गर्दै सडक सञ्जाल, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा थप काम गर्ने नेकपा एमालेका केन्द्रीय सदस्य एवं आसन्न निर्वाचनको समानुपातिक उम्मेदवार नरदेवी पुनले बताउनुभयो ।
घरदैलो भेटघाटको क्रममा मतदाताहरुले गाउँटोल, वस्तीमा सडक विस्तार, विद्यालय जाने बाटो बनाउने, खानेपानीको योजना सञ्चालन तथा मर्मतसम्भार, किसानहरुलाई अनुदानलगायत सहुलियत दिने जस्ता जनमुखी कार्यक्रमहरु ल्याउनुपर्ने माग एमाले पार्टी र उम्मेदवारसमक्ष राखेका छन् । स्वदेशमै रोजगारको व्यवस्था गरेर युवा पलायन रोक्नुपर्ने स्थानीयवासीको माग छ । कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, उपाध्यक्ष प्रमोद श्रेष्ठ, बेनी नगरपालिका कमिटी अध्यक्ष बेलबहादुर कटुवाल लगायतको विशेष उपस्थिति रहेको थियो ।

त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर (केवि) भण्डारीले मतदाता भेटघाट र प्रचारप्रसार अभियानलाई तीव्र गतिमा अघि बढाउनुभएको छ । शनिवार बेनी नगरपालिका ३ भकिम्ली र वडा नं ४ को विभिन्न वस्तीमा पुगेर मतदाताहरुलाई भेटघाट गरी उनीहरुका समस्या बुझ्नुका साथै आफ्ना भनाइ राख्दै जनताको सुखदुखमा आफू कहिल्यै पनि पछाडि नहट्ने र निर्वाचनमा भोट माग्ने क्रममा गरेका वाचाहरु नबिर्सने प्रतिबद्धता जनाउनुभयो ।
वडा नं ३ भकिम्लीको हल्लेगौंडादेखि चिनाखेत हुँदै मरेकसम्मका विभिन्न ६ वटा वस्ती र वडा नं ४ का थामडाँडा, सुर्केमलालगायत वस्तीहरुमा पुगी मतदाताहरुसँग छलफल अन्तरक्रिया तथा संवाद गर्दै जनजीवनसँग जोडिएका समस्याहरू प्रत्यक्ष रूपमा सुन्दै समाधानका उपायको बारेमा उम्मेदवार भण्डारीले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, कांग्रेस म्याग्दीका पूर्व सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक रेशमबहादुर बानियाँ, नेपाली कांग्रेस म्याग्दीका नेता हरिकुमार श्रेष्ठ, क्या.मीनबहादुर कार्की, दुर्गाराम सुवेदी, नारायण कार्की लगायतका नेता कार्यकर्ताहरु सहभागी थिए ।


