असार ६, २०८२ शुक्रवार । रुप्से न्यूज
म्याग्दी– लागूऔषध दुरुपयोग एवं ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन २६ तारिखको पूर्वसन्ध्याको अवसर पारेर म्याग्दीमा सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सुरु भएको छ । ‘स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता, लागूऔषध दुरुपयोग विरुद्ध एक्यबद्धता’ भन्ने मूल नारासहित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजना, जिल्ला प्रहरी कार्यालय तथा सामाजिक विकास कार्यालयको सहयोग र समन्वयमा सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम अन्तर्गत म्याग्दी सदरमुकाम बेनीमा प्रभातफेरी ¥याली गरिएको थियो । ¥यालीमा जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी एवं गैरसरकारी कार्यालय, संघसंस्था, विद्यालय र सुरक्षा निकायले सहभागिता जनाएका थिए ।

लागूऔषध दुरुपयोग एवं ओसारपोसार विरुद्धका सन्देशहरु लेखिएको प्लेकार्डसहित प्रभातफेरी कार्यक्रमका सहभागीको टोलीले सदरमुकाम बेनीबजारको परिक्रमा गरेको थियो । जिल्ला प्रशासन कार्यालय अगाडिको वीरेन्द्रचोकबाट सुरु भएको ¥याली हुलाकचोक–न्यूरोड–क्याम्पसचोक–गणेशटोल–सङ्गमचोक–बालमन्दिरचोक भएर पुनः वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले सञ्चालन गर्नुभएको कोणसभालाई प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सम्बोधन गर्नुभएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै प्रजिअ ढकालले लागूऔषध दुरुपयोग एवं ओसारपोसार विरुद्धको सप्ताहव्यापी कार्यक्रम मनाउन म्याग्दीमा सुरु भएको जानकारी दिनुभयो । उहाँले लागूपदार्थ दुव्र्यसनी र लागूऔषधको ओसारपोसारको विरुद्धमा सरोकारवाला सबै एकजुट भएर यसको न्यूनीकरण गर्नेतर्फ लाग्नुपर्ने बताउँदै प्रभातफेरी कार्यक्रममा सहभागी सबैलाई हार्दिक आभारसहित धन्यवादज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीको विशेष उपस्थिति रहेको थियो । म्याग्दीमा सदरमुकाम बेनीबजारसहित जिल्लाको विभिन्न स्थानीय तहमा लागूऔषध दुरुपयोग एवं ओसारपोसार विरुद्ध सचेतनामूलक विभिन्न कार्यक्रमहरु आयोजना गरेर यस सम्बन्धी दिवस मनाइने भएको छ ।


