• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

भदौ २२, २०८२ आइतबार । रुप्से न्यूज

म्याग्दी– ‘महिला वर्गको समृद्धि, सशक्तिकरण र आर्थिक उन्नति’ भन्ने मूल नारासहित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा एक समारोहको आयोजना गरी वार्षिक साधारणसभा सम्पन्न गरिएको हो ।

साधारणसभामा सहकारीका अध्यक्ष सुगम श्रेष्ठले संस्थागत प्रतिवेदन, सचिव अम्बिका श्रेष्ठले प्रगति र कोषाध्यक्ष कमला जिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरी लेखा तथा सुपरिवेक्षण समिति सदस्य लक्ष्मी भण्डारी कार्कीले लेखासम्बन्धी, ऋण उपसमिति संयोजक जगतकुमारी खत्रीले ऋणसम्बन्धी प्रतिवेदन र शिक्षा उपसमिति संयोजक अञ्जना हमाल केसीले शिक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै साधारणसभाको अवसरमा आर्थिक रुपमा विपन्न तीन घर परिवारलाई नगद पाँचहजार पाँचसय ५५ रुपैयाँको दरले खाद्यान्न सामग्री, शैक्षिक तथा आर्थिक सहयोग गरिएको दिदीबहिनी सहकारीले जनाएको छ । सहयोग पाउनेहरुमा बेनी नरपालिका १ रत्नेचौरका पातली दर्जीको परिवारलाई खाद्यान्न र शैक्षिक सामग्री तथा सिङ्गाका टेकबहादुर बानियाँ र अन्नपूर्ण गाउँपालिका ६ घारका बलबहादुर खड्कालाई आर्थिक सहयोग प्रदान गरिएको सहकारीका प्रवन्धक समीक्षा ढुङ्गानाले जानकारी दिनुभयो ।

सहकारीले गएको आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न विधातर्फ उत्कृष्ट कर्मचारी र कारोबार गर्नेलाई सम्मान गरेको छ । सुनौलो बचततर्फ श्वेता श्रेष्ठ, क्रमिक बचतमा ओसिन श्रेष्ठ, साधारण बचततर्फ बिनाकुमारी शेरचन, पर्व बचतमा चन्द्रकला सुवेदी, बालबचत गर्नेमा प्रियान्सी सापकोटा, लखपति बचत र असल ऋणी सारिका थापामगर, पेन्सन बचततर्फ सावित्री बरुवाल बानियाँ, आवधिक बचतमा सुजाता श्रेष्ठ, असल कारोबारकर्ता शर्मिला जोशी श्रेष्ठ, हाजिरी उपस्थितिमा सकुन्तला श्रेष्ठ र उत्कृष्ट कर्मचारीतर्फ प्रवन्धक समीक्षा ढुङ्गानालाई सम्मान गरिएको थियो ।

साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले सहकारी संघसंस्थाहरुले उत्पादन तथा व्यावसायिकमूलक क्षेत्रमा लगानी गरेर रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय सहकारी संघसंस्थाहरुमा समस्या आइरहेको अवस्थामा दिदीबहिनी सहकारीले भने मुठ्ठीदान अभियानसहित केही उदाहरणीय कार्यहरु गरेकोमा प्रशंसा गर्दै महिला दिदीबहिनीहरुले सिप सिकेर पेशा तथा व्यवसायमार्फत आफूलाई आत्मनिर्भर बनाएर समाजमा हुने आर्थिक विभेदको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

महिलाहरुको आफ्नै व्यवस्थापनमा वि.सं. २०६८ सालमा स्थापना भएको दिदीबहिनी सहकारीमा हालसम्म ८ सय ६३ जना शेयर सदस्य रहेका छन्भने तीन करोड ६५ लाख ८६ हजार रुपैयाँ शेयर पुँजी रहेको छ । सहकारीले गएको आर्थिक वर्षमा आठ करोड ७५ लाख ३६ हजार नौसय ४२ रुपैयाँ बचत, आठ करोड ३२ लाख ९२ हजार आठसय ९४ लगानी, विभिन्न शीर्षकमा एक करोड ९५ लाख सातसय ४५ रुपैयाँ कुल आम्दानी र एक करोड ८६ लाख २४ हजार आठसय रुपैयाँ खर्च गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, दिदीबहिनी सहकारीका पूर्व अध्यक्ष एवं सल्लाहकार जमुना आचार्य, शेयर सदस्य अम्बिका ढुङ्गाना र नियमित बचतकर्ता सारिका थापा मगरले मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभाको उद्घाटनसत्र संस्थाका अध्यक्ष सुगम श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष जगतकुमारी खत्रीको स्वागत र सचिव अम्बिका श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।