भदौ १२, २०८२ बिहीबार । रुप्से न्यूज
म्याग्दी– हिमाली जिल्ला म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले कानुनले दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताउनुभएको छ । हालै गृह मन्त्रालयबाट सरुवा भएर म्याग्दी आउनुभएका उहाँले बिहीबार जिल्लामा क्रियाशील पत्रकारहरुसँगको भेटघाटमा यस्तो बताउनुभएको हो ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा आयोजना गरेको पत्रकार भेटघाट, अन्तत्र्रिmया तथा परिचयात्मक कार्यक्रममा बोल्दै नवआगन्तुक प्रजिअ तिवारीले कानुनले दिएको जिम्मेवारी पुरा गर्न आफूले इमान्दारीपूर्वक काम गर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारीको रुपमा पहिलोपटक म्याग्दी आएको बताउँदै उहाँले इमान्दारीताका साथ कार्यसम्पादन गर्न आफू विश्वस्त रहेको समेत बताउनुभयो ।

नवआगन्तुक प्रजिअ तिवारीले गएको सोमबारदेखि आफू म्याग्दी आएर कार्यभार सम्हालेको बताउँदै यसअघि विभिन्न जिल्लामा सहायक प्रजिअको रुपमा काम गरिसकेको जानकारी दिनुभयो । उहाँले समाचार लेख्ने क्रममा पत्रकारले सत्यतथ्यसहित समाचारमा सन्तुलन मिलाउनुपर्ने आवश्यकता रहेको बताउँदै कुनै पनि सरकारी कार्यालयको बारेमा समाचारलेखनको क्रममा एकपटक सम्बन्धित पक्षको पनि राय तथा सल्लाह, सुझाव लिएर समाचार लेख्न पत्रकारलाई आग्रह गर्नुभयो ।
म्याग्दी जिल्ला आफैमा शान्त अनि यहाँका सर्वसाधारण, नागरिकहरु भलाद्मी र सहयोगी रहेको आफूले सुनेको भन्दै नवआगन्तुक प्रजिअ तिवारीले म्याग्दीमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरु पनि संयमित, अध्ययनशील र व्यवहारिक रहेकोबारे आफूले सुनेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सार्वजनिक सेवा प्रवाहलाई सुधार गर्नको लागि जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो । जिल्लामा रहेका विभिन्न कार्यालयहरुसँग आवश्यक समन्वय तथा सहकार्य र विकास निर्माणका कार्यहरुमा आफूले सहजीकरण गर्ने उहाँको भनाइ छ ।

नवआगन्तुक प्रजिअ तिवारीले म्याग्दी जिल्ला आफूले रोजेरै आएको र छिमेकी जिल्लावासी समेत भएको बताउनुभयो । उहाँले जिल्लामा सबै पक्षहरुसँग आपसी समन्वय तथा सहकार्य गरेर अगाडि बढ्ने बताउँदै त्यसमा पत्रकारबाट पनि आवश्यक सहयोग प्राप्त हुने अपेक्षा रहेको समेत बताउनुभयो । त्यस क्रममा उहाँले सार्वजनिक सेवा लिने क्रममा प्रक्रिया र कागजमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभएको थियो । सेवा लिने क्रममा कानुनी प्रक्रिया पुरा गर्नुपर्ने उहाँले जोड दिनुभयो ।
कानुनले दिएको जिम्मेवारी पुरा गर्ने क्रममा आफूले कुनै कसर बाँकी नराख्ने बताउँदै प्रजिअ तिवारीले प्रक्रिया पुरा नगरिकनै भनसुनको भरमा कागजातविना काम हुन नसक्ने बताउनुभयो । तर आवश्यक प्रक्रिया पुरा भई कागजात मिलेर आएका कामहरुमा भने कसैले भनसुन गर्न नपर्ने पनि बताउँदै उहाँले जिल्लास्थित स्थानीय पालिका र सरकारी कार्यालयहरुसँग सेवा प्रवाहलाई सहज र सरल बनाउन आवश्यक समन्वय गरिने बताउनुभयो ।

जिल्लामा भैरहेका विकास निर्माणका कामहरुको गति बढाउन विपद् व्यवस्थापन तथा सुरक्षाको लागि प्रभावकारी तवरले काम हुने प्रजिअ तिवारीको भनाइ छ । कार्यभार सम्हाल्ने क्रममा सलामी ग्रहणको विषयमा सामाजिक सञ्जालहरुमा आएका टिकाटिप्पणीका बारेमा पनि प्रजिअ तिवारीले स्पष्ट पार्नुभएको थियो ।


