कात्तिक १०, २०८२ सोमबार । रुप्से न्यूज
म्याग्दी– म्याग्दीको मंगला गाउँपालिका–४, बुकेनी र धापुङ गाउँ जोड्ने न्यू खोलामाथि झोलुङ्गे पुल निर्माण भएको छ । भौगोलिक रुपमा विकट दुई वस्तीका बासिन्दालाई दैनिक आवतजावतमा सहज हुने गरी कुल ५७ लाख १० हजार आठसय ६० रुपैयाँको लागतमा पुल निर्माण गरिएको हो । झोलुङ्गे पुलको कुल लागतमध्ये ८५ प्रतिशत झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), १३ प्रतिशत मंगला गाउँपालिका र २ प्रतिशत स्थानीय श्रमदान रहेको थियो ।

नवनिर्मित झोलुङ्गे पुलबाट १ सय ९३ घरधुरीका ९ सय ६५ जनाभन्दा बढी जनसंख्या प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । उक्त झोलुङ्गे पुलको विघटित प्रतिनिधिसभा सदस्य एवं पूर्व जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बीर)ले सोमबार एक समारोहबीच उद्घाटन गर्नुभयो । पुलको उद्घाटन गर्दै उहाँले दुईवटा वस्तीका जनताको भौगोलिक दूरी घटाउनका लागि लामो झोलुङ्गे पुलको सर्भेक्षण तथा बरंजा क्षेत्रमा जोड्ने सडक सञ्जाललगायत योजनाहरूलाई स्रोत जुटाउने काम भैरहेको बताउनुभयो ।

पूर्व राज्यमन्त्री गर्बुजाले अहिलेको अवस्थामा आफ्नो भूमिका घटेको भए पनि प्रतिबद्धता जनाए अनुसारका योजनाहरुमा स्रोत जुटाउन निरन्तर पहल गरिरहेको बताउनुभयो । मन्त्रीपरिषद्मा छोटो समय बस्दा पनि देखिने गरी जिल्लामा आफूले बजेट ल्याएको दावी गर्दै उहाँले संघीय संसद विघटनसहित अन्तरिम सरकारबाट बजेट ल्याउने वातावरण नभएको वर्तमान अवस्थामा कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारबाट भने आवश्यक सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले सीमित स्रोतसाधनका बाबजुद पनि वस्तीस्तरमा योजना विनियोजन तथा लागत साझेदारीमा धेरै योजनाहरु सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले गाउँपालिकाबाट सडक, खानेपानी, पुल निर्माण लगायतका योजनाहरुमार्फत समुदायको मागहरु सम्बोधन गरिएको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष लालबहादुर रोकाले वर्षाको समयमा न्यू खोलामाथिको जिर्ण पुलले बालबालिका, वृद्धवृद्धाका साथै घाँस दाउरा सङ्कलन गर्न जाने स्थानीयवासीलाई समस्या हुने गरेकोमा अब ९२ दशमलव ५ मिटर लामो नवनिर्मित झोलुङ्गे पुलले धेरै सहज भएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, मिलन म्याग्दीका निर्वतमान अध्यक्ष दिलमाया बिटालुले स्थानीयको आवश्यकता अनुसार नवनिर्मित झोलुङ्गे पुलमा समुदायस्तरबाट गरिएको योगदानको प्रशंसा गर्नुभएको थियो । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक तथा सामग्री, मंगला गाउँपालिकाको लागत साझेदारी तथा स्थानीयवासीको श्रमदानबाट उक्त पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सविता रोकाले जानकारी दिनुभयो ।

पुल निर्माण भएपछि स्थानीयवासीका साथै बागलुङको ताराखोला गाउँपालिकाको सिर्कु, अर्गल, बेनी नगरपालिका–३, भकिम्लीका बासिन्दालाई राहत मिलेको छ । झोलुङ्गे पुल उद्घाटन कार्यक्रममा स्थानीयले पञ्चेबाजासहित सांस्कृतिक कार्यक्रमले स्वागत गरेका थिए । झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रोकाको अध्यक्षता, स्थानीय चक्रबहादुर रोकाको स्वागत र योगेन्द्रमान शेरचनको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसवर्ष मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोगमा बेनी नगरपालिका, मालिका, अन्नपूर्ण गाउँपालिकामा डिपिआर तयार गरिएको छ भने गतवर्ष विभिन्न ५ वटा पुल निर्माणसम्पन्न भएकोमा एउटा पुलको बृहत मर्मतसम्भार गरिएको थियो ।



