• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com
जेठ २२, २०८२ बिहीबार । रुप्से न्यूज
म्याग्दी– विश्व वातावरण दिवस–२०८२ को अवसरमा बिहीबार म्याग्दीको सदरमुकाम बेनीबजारमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । ‘कुरामा होइन नतिजामा विश्वास गरौं’ भन्ने मूल नारासहित अर्जुन सरको कोरियन भाषा सेन्टर बेनी म्याग्दीको आयोजनामा बेनीबजार तथा प्रदेश अस्पताल बेनीको परिसरमा सरसफाइ गरिएको हो ।
अस्पताल र बजारलाई सफा, सुन्दर, स्वच्छ तथा प्रदूषणरहित बनाउने उद्देश्यले बेनीबजार क्षेत्र र अस्पताल परिसरमा यत्रतत्र रहेका फोहोरहरु सङ्कलन गरेर व्यवस्थापन गरिएको कोरियन भाषा सेन्टर म्याग्दीले जनाएको छ । म्याग्दी सदरमुकाम समेत रहेको बेनीबजार, खुलामञ्च, बजारको विभिन्न चोकहरु, गल्ली र अस्पतालमा गरिएको सरसफाइमा ४० वटा भन्दाबढी प्लाष्टिकको बोहोरामा फोहोर सङ्कलन गरिएको थियो ।
सोही क्रममा प्रदेश अस्पताल बेनीको परिसरमा झाडी समेत कटान गरी सरसफाइ गरिएको थियो भने सङ्कलित फोहोरलाई डम्पिङ साइटमा लगेर व्यवस्थापन गरिएको अर्जुन सरको कोरियन भाषा सेन्टर बेनी म्याग्दीका सञ्चालक तथा प्रशिक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो । सञ्चालक भण्डारीसहित कोरियन भाषा सेन्टरमा अध्ययनरत विद्यार्थीहरुले बजार तथा अस्पतालमा यत्रतत्र छरिएका र फालिएका कागज, प्लाष्टिक, सीसा, धातु, विभिन्न प्याकेट, बट्टा, पानीका खाली बोतलहरु, कागजातलगायत सङ्कलन गरेका थिए ।
सरसफाइ कार्यक्रमको अवसर पारेर बेनीबजारको विभिन्न चोक तथा गल्लीमा फोहोर सङ्कलन गर्नेगरी ७ वटा बाल्टीहरु राखिएको कोरियन भाषा सेन्टरका सञ्चालक भण्डारीले बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा पनि भाषा सेन्टरमार्फत तयारी कक्षासँगै रचनात्मक क्रियाकलापहरुमा समेत निरन्तरता दिइनेछ । वातावरण संरक्षण दिवसमा विभिन्न संघसंस्थाले सरसफाइसँगै सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने गर्दछन् ।