पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा महिलाहरुलाई भाषणकला र उद्घोषण सिप सम्बन्धी विषयक तालिम सम्पन्न भएको छ । गणेशथान आमा समूह मिलनचोक पर्वतको आयोजना र टेवा टिम काठमाडौँको आर्थिक सहयोगमा शनिवारदेखि सुरु भएको तालिम सोमबार सकिएको हो ।
महिलाहरुलाई माईक समातेर बोल्न र भाषण गर्न सिकाउने तथा औपचारिक कार्यक्रमको उद्घोषणसहित सञ्चालन गर्नका लागि दक्ष बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको थियो । तालिमको समापनसत्रलाई सम्बोधन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले तीन दिनको अवधिमा सिकेका ज्ञान, सिपलाई अब व्यवहारमा उतार्नुपर्ने सुझाव दिनुभयो ।

भाषणकला र उद्घोषणकलाका लागि तालिमपश्चात् पनि नियमित रुपमा अध्ययन तथा अभ्यास गर्नुपर्ने बताउँदै अध्यक्ष आचार्यले महिलाहरुको व्यक्तित्व एवं नेतृत्व विकास र क्षमता अभिवृद्धि सम्बन्धी विषयमा गाउँपालिकामार्फत तालिम गोष्ठीलगायत कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो । तालिमका प्रशिक्षक एवं पत्रकार सुस्मा पौडेलले तालिम अवधिभरमा भाषणकला र कार्यक्रम उद्घोषणबारे विभिन्न विषयहरुमा सहजीकरण गरिएकाले महिला दिदीबहिनीहरु आउँदा दिनहरुमा परिवर्तन भएर प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो ।

गणेशथान आमा समूहका अध्यक्ष सुनिता बरुवाल जिसीले महिला दिदीबहिनीहरुको क्षमता विकास गर्नका लागि आगामी दिनमा समेत यस्ता तालिमहरु निरन्तर रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो । समूहका सचिव एवं सामाजिक अभियन्ता जमुना आचार्यले तीन दिनको तालिमको अवधि थोरै भए पनि सहभागीहरुमा धेरै परिवर्तन आएकाले नियमित रुपमा अभ्यासमा गर्नुपर्ने बताउनुभयो ।

आमा समूहका अध्यक्ष जिसीको अध्यक्षता र सचिव आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सहसचिव प्रताप बानियाँ र तालिमका सहभागी अम्बिका सुवेदी पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो । भाषणकला, उद्घोषण, सकारात्मक सोच, उत्प्रेरणा, कार्यक्रम सञ्चालनको तरिकालगायत विभिन्न विषयहरुमा सहजीकरण गरिएको तालिममा गणेशथान आमा समूह, मोहनचोक, स्थानीय संघसंस्थाबाट गरी ३० जना महिलाहरुले सहभागिता जनाएका थिए ।



