म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरस्थित रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालयमा आइतबार महाशिवरात्रि पर्वमा भक्तजनहरुले पूजाअर्चना गरेका छन् । महाशिवरात्रि पर्वको अवसरमा हिजो बिहानैदेखि भक्तजनहरूको गलेश्वर शिवालयमा ठूलो भीड लागेको थियो ।
शिवरात्रि पर्वको अवसरमा यसवर्ष गलेश्वर शिवालय मन्दिरमा विभिन्न ठाउँबाट आएका भक्तजनहरूले पूजा आराधना गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । म्याग्दी सदरमुकाम बेनीबजारदेखि ३ किलोमिटर उत्तर पूर्वमा अवस्थित पवित्र कालीगण्डकी नदी किनारमाथि रहेको ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको गलेश्वरधाममा म्याग्दीसहित विभिन्न जिल्लाहरूबाट आएका भक्तजनहरूले पूजाआजा गरेका हुन् ।
शिवरात्रि पर्वको अवसर पारेर गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योतिर्लिङ्गमा पूजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवन, नवलपरासी, रुपन्देही र काठमाडौंबाट श्रद्धालु, भक्तजनहरू आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव सम्मरबहादुर थापाले जानकारी दिनुभयो । यसवर्ष महाशिवरात्रि पर्वमा करिब ३० हजारभन्दा बढी भक्तजनहरुले गलेश्वर शिवालयमा पूजाआजा गरी दर्शन गरेका छन् भने आइतबार रातभर जाग्राम बसेर महिलाहरुले महाबत्ती बालेको तथा भजनकिर्तन समेत गरिएको थियो ।
महाशिवरात्रि पर्वको दिन भक्तजनहरूले शुद्ध भई ‘ॐ नम शिवाय’ मन्त्र जप्दै पूजाअर्चना गरी ब्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो तथा बेलपत्र चढाउने शास्त्रीय मान्यता रहिआएको छ । गलेश्वर मन्दिर परिसरमा दिनभरजसो शिवजीको पूजा आराधना गर्ने र रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजनकिर्तन गर्ने, धुनी जगाउने तथा भगवान् शिवको प्रिय मानिने महाप्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको थियो । यस पर्वलाई भव्य र सभ्य रूपमा मनाउन तथा पूजा व्यवस्थापन गर्नको लागि विभिन्न उपसमितिहरूमार्फत काम गरिएको थियो । यसवर्ष पनि जिल्लास्थित विभिन्न संघसंस्थाहरुले स्वयंसेवा गरेका थिए ।
महाशिवरात्रि पर्वमा गलेश्वरमा भक्तजनले निर्जल ब्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा किर्तन गरी शिव भगवान्को पूजा गर्ने गर्दछन् । शिवरात्रि पूजाको ब्रतकालमा भगवान् शिवजीको ध्यान, पुजन र जप गर्ने गरिन्छ । यसैगरी शिवपूजा गर्दा इशान मूर्तिलाई दूधले, अघोर मूर्तिलाई दहीले, वामदेव मूर्तिलाई घ्युले तथा सद्योजात लिङ्गोदेव मूर्तिलाई महले स्नान गराइन्छ ।
पवित्र कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहिआएको छ । गलेश्वर मन्दिर परिसरमा कहिल्यै नसुक्ने पोखरी पनि रहेका छ । गलेश्वरधाममा रहेका ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणि आदि चक्राकार रूपी चिह्न मानवनिर्मित नभई स्वयं उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख गरिएको छ ।
द्वापरयुगमा भगवान् शिव महादेवले सतिदेवीको मृत शरीर बोकेर पृथ्वीको भ्रमण गर्ने क्रममा कृष्णागण्डकी किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको गलेश्वर नाम रहेको धार्मिक इतिहास छ । गलेश्वर मन्दिरमा सङ्कलन भएको भेटी तत्कालै गनेर सार्वजनिक गर्ने गरिन्छ ।


