• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका डाक्टर महावीर पुनको चुनावी अभियान जारीरहेको छ । यसेक्रममा शुक्रवार मालिका गाउँपालिकाको विभिन्न वस्तीमा पुगेर मतदातालाई आश्वासन नभई काम गरेर देखाउने उहाँले बताउनुभएको छ । मालिका गाउँपालिका वडा नं २ र वडा नं ३ को विभिन्न वस्तीमा पुगेर मतदातासँगको भेटघाटमा आफ्नो योजनाहरु व्यक्तिगत नभई राष्ट्र«का लागि भएकाले चुनावी मैदानमा आएको उहाँले बताउनुभयो ।

चुनावी भेटघाटको क्रममा उम्मेदवार पुनले झुटो आश्वासन दिएर भोट नमाग्ने बताउँदै आफ्नो उम्मेदवारी कुनै व्यक्ति, पार्टीप्रति लक्षित नभएकाले म्याग्दीवासीको हकहितमा काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बोलेर होइन काम गरेर देखाउँछु, मेरो काम सबैले देख्नुभएकै छ ।’ शुक्रवार बिहानैदेखि चुनावी भेटघाटका लागि विभिन्न वस्तीमा पुगेर मतदातालाई भेटघाट गरेको अभियानमा सहभागी यूवा विनोद बुढाथोकीले जानकारी दिनुभयो ।

उम्मेदवार पुनले यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा शिक्षा क्षेत्रको सुधारलाई पहिलो चुनावी मुद्दा बनाएको बताउनुभएको छ । आफ्ना सहयोगी र शुभेच्छुकहरुको साथमा मतदाताहरुलाई भेटेर उम्मेदवार पुनले शिक्षा, अनुसन्धान, नवप्रवद्र्धन, रोजगारी, अर्थतन्त्र र विकासका साथै युवाहरुसँग सहकार्य गर्ने आफूले योजना बनाएको उहाँको भनाइ छ । उहाँले रोजगार र उद्यमसँग जोडेर देशको अर्थतन्त्र सुधार गरी विकासका कामहरु गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहनुभएका पुनले जीवनी बेचेर कारखाना चलाउने गरेकाले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको र भ्रष्टाचार गर्नेहरुसँग सङ्गत पनि नगर्ने बताउँदै राजनीति नभई सेवाका लागि भएकाले आफू उम्मेदवार बनेको बताउनुभयो । उहाँले आफ्नो उम्मेदवारी समग्र देश विकासका लागि भएकाले त्रिभूज चिह्नमा मतदान गर्न आग्रह गर्नुभएको छ ।