१९औं गणतन्त्र दिवस म्याग्दीमा विविधि कार्यक्रमको आयोजना गरेर मनाइएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा शुक्रवार जिल्ला सदरमुकाम बेनीमा प्रभातफेरी र निर्माण व्यवसायीलाई सम्मान कार्यक्रम आयोजना गरी यो दिवस मनाइएको हो ।
सदरमुकाम बेनीमा राजनीतिक दल, सरकारी निकाय तथा विभिन्न संघसंस्थाको सहभागितामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको थियो । यसवर्ष प्रभातफेरी कार्यक्रमसहित जिल्लामा समयमै निर्माणकार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरी गणतन्त्र दिवस–२०८३ मनाइएको मूल समारोह समितिले जनाएको छ ।
बेनीबजारमा प्रभातफेरी गरी वीरेन्द्रचोकमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य र बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले पूर्वाधार विकास कार्यालय म्याग्दी, खानेपानी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दी, कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनामा तोकिएको समय अगाडि नै निर्माणको कामसम्पन्न गर्ने निर्माण व्यवसायीहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा पूर्वाधार विकास कार्यालयबाट ओमेन अस्कर निर्माण सेवा मालिका–५ देविस्थान, रुप्से बिल्र्डस निर्माण कम्पनी अन्नपूर्ण–३ दाना, सोमरस निर्माण सेवा बेनपा–२ खबरा, बिबिपिल बिएडी डिपी काठमाण्डौ टोखा, एसएस बिल्र्डस बेनपा–९ म्याग्दी, जय मंगलादेवी सुवास कन्स्ट्रक्सन नुवाकोट र मंगला कस्ट्रक्सन प्रालि रहेका छन् । यसैगरी खानेपानी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीबाट धौलाश्री निर्माण सेवा रघुगंगा–३ म्याग्दी, महाशक्ति माया निर्माण कस्ट्रक्सन प्रालि बेनपा–६ र रुप्से बिल्र्डस निर्माण कम्पनी अन्नपूर्ण–३ दानालाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै प्रजिअ आचार्यले समयमै निर्माणकार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरी अन्य व्यवसायीलाई समेत सन्देश प्रवाह गरिएको बताउनुभयो । कार्यक्रमको समापन गर्दै गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख खत्रीले गणतन्त्र दिवसको अवसरमा एकता र सन्देश प्रवाह गरिएको बताउनुभयो । कार्यक्रमको सञ्चालन जिसस म्याग्दीका शाखा अधिकृत अमृत सुवेदीले गर्नुभएको थियो ।

तत्कालीन विद्रोही पक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्ता जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते विघटित संसद् पुनःस्थापना गरेका थिए । त्यसपछि गठित सरकारबाट भएको ऐतिहासिक संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले वि.संं. २०६५ साल जेठ १५ गते संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरिएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गतेको दिनलाई नेपालमा गणतन्त्र स्थापना भएको दिनको रुपमा विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ ।



