कात्तिक ५, २०८२ बुधवार । रुप्से न्यूज
म्याग्दी– साँझ झमक्कै परिसकेको थियो । कात्तिक महिना साँझपख चिसो पनि बढ्दै थियो । नेपाली समुदायको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन विशेष कार्यक्रम आयोजना गरिएको थियो म्याग्दीको पूर्णगाउँमा । यहाँ लाल यूवा क्लब मंगला गाउँपालिका–१ पूर्णगाउँ म्याग्दीद्वारा तिहार विशेष मेला–२०८२ आयोजना गरिएको हो ।

कात्तिक ३ गते सोमबारका दिन राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुतीको साथमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीबाट लाइभ दोहोरी पनि थियो । यस दिन साङ्गीतिक कार्यक्रमको मुख्य आकर्षणको केन्द्रविन्दु राष्ट्रिय कलाकार सुमन थापा मगरलाई आयोजक क्लबले बोलाएको थियो । स्थानीय आमा समूह र कलाकारहरुको प्रस्तुतीपछि बेजोड लाइभ दोहोरी भयो ।

जब साँझ छिप्पिँदै थियो, तब गीत गाउने पालो आयो राष्ट्रिय कलाकार एवं चर्चित लोकदोहोरी गायिका सुमन थापा मगरको । उहाँले प्रतिष्ठान म्याग्दीका कलाकारहरुसँग घमासान लाइभ दोहोरी गाएको केही समयपछि आफ्नो प्रस्तुती दिन सुरु गर्नुभयो । गायिका मगरले झ्यालमा पर्दा छ, सालीभेना जाम उँधै–उँधै, सुनाइदेऊ न मोहनी बोली, थर दिन्छौ र (पन्चेबाजाको गीत), सही लाहुरे पल्टन देहरादुनैको, फूल राम्रो हो कि बोटै राम्रोलगायत आफ्ना बहुचर्चित गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई भरपुर मनोरञ्जन गराउनुभयो ।
लोकदोहोरी गायिका मगरको गीतको प्रस्तुतीमा कार्यक्रममा सहभागी स–साना बालबालिकादेखि बुढापाकाहरु समेत छमछमी नाचेर उहाँलाई साथ दिएका थिए । प्रतिष्ठान म्याग्दीको तर्फदेखि लाइभ दोहोरी, देउसीभैलो र अन्य कलाकारहरुलाई समेत गीत गाएर सघाउँदै दर्शक, स्रोतालाई मन्त्रमुग्न बनाउन सफल गायिका मगरले आफ्नो प्रस्ुततीमार्फत थप मनोरञ्जन प्रदान गरी दर्शकहरुको मन जित्नुभयो । उहाँको गाउने कला, गला र प्रस्तुतीलाई मन पराएका दर्शक, स्रोताले गायिकालाई पैसाको फूल लगाइदिएर ‘वान्समोर’ भन्दै पुनः गीत गाउन आग्रह गरेका थिए । गीत, सङ्गीतको सबै विधामा अब्बल गायिका मगरको प्रस्तुतीले मेलाको रौनक खुब तातेको थियो ।

पूर्णगाउँको मेलामा पहिलोपटक आउनुभएकी गायिका मगरको प्रस्तुतीले उधुम मच्चाएको भन्दै दर्शकले प्रशंसा पनि गरेका थिए । स्याङ्जाको चापाकोट नगरपालिका–८, दामाचौरमा जन्मनुभएकी उहाँले सानै उमेरदेखि विद्यालयस्तरीय कार्यक्रमहरु, गाउँघर अनि मेलापातमा गीत गाउनुहुन्थ्यो । पछि काठमाडौँ गएर गीतसङ्गीत क्षेत्रलाई निरन्तरता दिँदै अहिले लाइभ दोहोरी तथा स्टेच कार्यक्रमहरुमा आफूलाई उभ्याउनुभएको छ । माथि उल्लेखित गीतसँगै उहाँले पाल्पाली ढाका टोपी राम्रो, किन ढाँटम्ला, म त एक्लो पिपलु, सालैजो, जालको माछालीलगायत थुप्रै गीतहरु गाउनुभएको छ । उहाँलाई आजभोलि मेला, महोत्सव र स्टेच कार्यक्रममा अवसरहरु आइरहन्छन् ।

म्याग्दीका लोकगायक एवं सञ्चारकर्मी अमित विश्वकर्माले सञ्चालन गर्नुभएको साङ्गीतिक कार्यक्रममा गायिका मगरसँगै कलाकारहरु ध्रुव जिसी, देवेन्द्र घिमिरे, एकराज चापागाईँ, सज्जन बोहोरा, करण कँडेल, विजय परियार, निशा भण्डारी र गरिमा परियारले पनि आ–आफ्नो प्रस्तुती दिनुभएको थियो । पूर्वसांसद नरबहादुर पुनको प्रमुख आतिथ्य रहेको यस कार्यक्रममा मंगला गाउँपालिकाका पूर्व उपाध्यक्ष सिर्जना केसी र बेनी नगरपालिकाको शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

लाल युवा क्लबका अध्यक्ष खगेन्द्र खत्रीको अध्यक्षता र निवर्तमान सचिव सागर सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष टेकबहादुर राम्जालीले स्वागत गर्नुभएको थियो । पूर्णगाउँमा तिहारको अवसरमा भलिबलसहित खेलकुदजन्य कार्यक्रमहरु पनि आयोजना गरिएको थियो । पूर्णगाउँ र काउलेगौंडा दुवै ठाउँमा आयोजित मेलाको अवसर पारेर कलाकार कल्याणकारी अक्षयकोष वृद्धि गर्नका लागि प्रतिष्ठान म्याग्दीमार्फत आयोजित देउसीभैला समेत खेलिएको थियो ।

यसैगरी तिहार पर्वकै अवसरमा काउलेगौंडा युवा क्लब केवाईसी घतानले पनि काउलेगौंडामा तिहार विशेष कार्यक्रम सम्पन्न गरेको छ । काउलेगौंडामा चर्चित लोकदोहोरी गायिका सुमन थापामगर, रवि कार्की, सज्जन बोहोरा, अमित विश्वकर्मा, करण कँडेल, गरिमा परियारसहित कलाकारहरुले आ–आफ्नो प्रस्तुतीमार्फत दर्शकहरुलाई छमछमी नचाएर मनोरञ्जन दिलाएका थिए । केवाईसी युवा क्लबले काउलेगौंडामा भलिबललगायत विविध सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेको थियो ।




