उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारका यूवा शिव खड्काले हालै होटल तथा रेष्टुरेण्ट खोल्नुभएको छ । आफ्नै गाउँ घारमा कृषि र पशुपालनमा सक्रिय यूवा खड्काले अन्नपूर्ण प्रथम हिमालको आधारशिविर, म्याग्दीको पर्यटकीयस्थल घोरेपानी, पुनहिल, महरेडाँडा, खोप्रालेक र मुस्ताङको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरेर अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा होटल सञ्चालनमा ल्याउनुभएको हो ।
कृषि र पशुपालन सँगसँगै पर्यटन व्यवसायलाई पनि जोडेर अगाडि बढ्ने उद्देश्यका साथ आफूले पोखरेबगरमा होटल व्यवसाय सञ्चालन गरेको यूवा खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आधुनिक सुविधासम्पन्न होटलमा ९ वटा एट्याच कोठाहरु रहेका छन् । पछिल्लो समय बढ्दो पर्यटकीय आगमनलाई मध्यनजर गरेर पर्यटकहरुको सेवा गर्नका लागि आफूले होटल तथा रेष्टुरेण्ट व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो । आफ्नो फर्ममार्फत उत्पादित पशुजन्य पदार्थ र कृषि उत्पादनको स्वाद चखाउने होटल व्यवसायी खड्काको योजना छ ।

नयाँ होटलको व्यवसायी खड्काको आमा मानकुमारी खड्काले बिहीबार एक समारोहबीच उद्घाटन गर्नुभएको थियो । होटल उद्घाटन समारोहमा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, अन्नपूर्ण वडानम्बर ६ का वडा अध्यक्ष रामबहादुर खड्कासहित जनप्रतिनिधि, नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ, म्याग्दी जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, प्रकाश माध्यमिक विद्यालय बेनीका प्रधानाध्यापक लेखबहादुर हमाल र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सहसचिव प्रताप बानियाँको विशेष उपस्थिति रहेको थियो ।

होटल उद्घाटन समारोहमा स्थानीयवासी, व्यवसायीहरु लगायतको समेत उपस्थिति रहेको थियो । यूवा व्यवसायी खड्काले सञ्चालनमा ल्याएको नयाँ होटलले अन्नपूर्ण क्षेत्रको पर्यटन व्यवसायमा थप नयाँ आयाम थपेको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष तिलिजाले बताउनुभयो । पछिल्लो समय देशमा रहेका मुख्य पर्यटकीय, धार्मिक तथा ऐतिहासिक र ओझेलमा परेका क्षेत्रहरुमा आन्तरिक पर्यटकहरुको उपस्थिति बढ्दै गएको छ । पर्यटन व्यवसायलाई देशको अर्थतन्त्रमध्ये एक अभिन्न अङ्ग र प्रमुख क्षेत्रको रुपमा लिइन्छ । पोखरेबगरमा सञ्चालित नयाँ होटलले जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।




