• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

नेपाल पत्रकार महासंघले सोमबार आफ्नो ७१औं स्थापना दिवस देशैभर विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाएको छ । महासंघ केन्द्रले गरेको परिपत्र अनुसार नेपाल पत्रकार महासंघ जिल्ला शाखा, म्याग्दीले पनि एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसर पारेर म्याग्दीमा सञ्चार क्षेत्रमा आबद्ध दुई जना व्यक्तिलाई खाद्यान्न सामग्री वितरण गरी पत्रकार महासंघको ७१औं स्थापना दिवस मनाइएको पत्रकार महासंघ म्याग्दी शाखाले जनाएको छ । जिल्लाको छापा सञ्चारमाध्यममा कार्यरत हकर सन्त नेपाली र पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालय सहयोगी मनकुमारी परियारलाई दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु प्रदान गरिएको थियो ।

दुवै जनालाई पत्रकार महासंघ म्याग्दी शाखाको तर्फदेखि एकएक बोरा चामल, दाल, नुन, खानेतेल, मस्यौरालगायत खाद्यान्न सामग्री वितरण गरी स्थापना दिवस मनाइएको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण शर्मा गौतमले जानकारी दिनुभयो । खाद्यान्न सामग्री वितरण गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष प्रकाश पौडेलले पत्रकार महासंघको स्थापना दिवसले आगामी दिनमा सञ्चार क्षेत्रको उन्नति र दिगोपनका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्ने बताउनुभयो ।

प्रदेश समितिका उपाध्यक्ष पौडेलले पत्रकार तथा सञ्चारकर्मीहरुको हकहितका लागि वर्तमान सरकारको पनि गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताउँदै पछिल्लो समय सञ्चारमाध्यम र पत्रकारमाथि चौतर्फी हमला भैरहेकाले पत्रकारले सत्यतथ्य एवं खोजमूलक समाचारजन्य सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकार र सञ्चारकर्मीले दुव्र्यवहार तथा धम्कीहरु खेप्नुपरिरहेको वर्तमान अवस्थामा पत्रकार आचारसंहिताको पूर्ण रुपमा ख्याल गरेर पत्रकारहरु सञ्चार कर्ममा लाग्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रमको समापन गर्दै पत्रकार महासंघ म्याग्दीका अध्यक्ष गौतमले महासंघ म्याग्दी शाखामार्फत जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको दुर्घटना बीमा, म्याग्दीका पर्यटकीय क्षेत्रहरुमा पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन, पत्रकारको क्षमता अभिवृद्धिका लागि समय समयमा तालिम तथा गोष्ठीहरुको आयोजनालगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिनुभयो । कार्यक्रम पत्रकार महासंघ म्याग्दीका अध्यक्ष गौतमको अध्यक्षता, उपाध्यक्ष अमित विश्वकर्माको स्वागत र सचिव ठाकुरप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले विज्ञप्तिमार्फत पत्रकार, सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सात दशक लामो इतिहास बोकेको महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हकहितमा काम गर्दै आएको उल्लेख गर्नुभयो । पछिल्लो समय सूचना प्रविधिको विकाससँगै बढिरहेको सामाजिक सञ्जालको प्रयोगले मिथ्या सूचनाको प्रवाह पनि बढ्दो छ ।

जसका कारण पाठकलाई तथ्यपरक सूचना प्रवाह गर्नु चुनौतीको रुपमा देखिएको छ । सही सूचना पाउने नागरिक अधिकारको सुनिश्चितता र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न अध्यक्ष शर्माले आग्रह गर्नुभएको छ । त्यस्तै लामो समयदेखि रोकिएका सञ्चार सम्बन्धी कानुन र आवश्यक कानुनहरु महासंघसहितका सरोकारवाला पक्षसँग आवश्यक छलफल गरी ल्याउन पनि सरकारसँग आग्रह गरिएको छ ।