हिमाली जिल्ला म्याग्दीको प्रदेश अस्पताल बेनीमा आइतबार सवारी दुर्घटनाको कृत्रिम उद्धार तथा उपचारको नमुना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । प्रदेश अस्पताल बेनीको आयोजना, जिल्ला विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकायको समन्वय र धौलागिरि प्रादेशिक अस्पताल बागलुङ र प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको अनुगमन तथा प्राविधिक सहयोगमा दुर्घटनाको उद्धारसँगै उपचार अभ्यास गरिएको हो ।
थाहा नदिइकन (विनाजानकारी) आधारित आकस्मिक विपद् अभ्यास कार्यक्रम गरिएको प्रदेश अस्पताल बेनीले जनाएको छ । सो कार्यक्रम अन्तर्गत आइतबार बिहान १०ः३० बजेको समयमा पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको बस बेनी–गलेश्वर सडकखण्डमा दुर्घटना भएको परिकल्पना गर्दै अस्पतालको आपत्कालीन अवस्थामा उपचार दिने क्षमता र अवस्थाको जाँच गर्नुका साथै परीक्षण गरिएको हो ।
बस दुर्घटनाको जानकारी अनुसार सुरक्षाकर्मी तत्कालै घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी प्रदेश अस्पताल बेनीमा ल्याएका थिए । दुर्घटनाको सूचना प्राप्त हुनासाथ अस्पतालले साईरन बजाएर चिकित्सकसहित उपचारका लागि आवश्यक सम्पूर्ण जनशक्ति तयारी अवस्थामा राखेको थियो । एम्बुलेन्स र सुरक्षा सवारीमार्फत घाइतेलाई अस्पताल ल्याउँदाबित्तिकै चिकित्सकले बिरामीको अवस्था मूल्याङ्कन गरी सामान्य, जटिल र गम्भीर वर्गीकरण गरेर घाइतेलाई पहेँलो, नीलो र रातो समूहको कक्षमा व्यवस्थापन गरी प्राथमिकताक्रमको आधारमा उपचार अघि बढाइएको थियो ।

त्यसक्रममा अस्पतालमा कार्यरत चिकित्सक र नर्सहरू उपचारमा खटिएका थिएभने सुरक्षाकर्मीले बिरामी स्थानान्तरणमा सहयोग गरेका थिए । घाइतेको प्राथमिक उपचार, एक्स–रे, औषधी उपचार लगायतसँगै अभ्यासको क्रममा घटनास्थलमा मृत्यु भएका एक जनालाई शवगृहमा पठाइएको र गम्भीर अवस्थाका दुई जनालाई थप उपचारका लागि पोखरा ‘रिफर’ गरिएको परिदृश्य समेत प्रस्तुत गरिएको बेनी अस्पतालका सूचना अधिकारी झरना श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा परेकामध्ये सामान्य अवस्थाका बिरामीलाई उपचारपछि घर फर्काइएको र केहीलाई भर्ना गरेर अस्पतालमै राखिएको दुश्य पनि उक्त क्रममा प्रस्तुत गरिएको थियो ।

दुर्घटना र प्राकृतिक विपद्को समयमा एकैपटक धेरै जटिल समस्या भएका बिरामीहरु आउँदा अस्पतालले कसरी उपचार गर्छ भन्ने वास्तविकता पत्ता लगाउनको लागि कृत्रिम दुर्घटनाको उद्धार र उपचारको अभ्यास गरिएको प्रदेश अस्पताल बेनीका निमित्त प्रमुख मेडिकल सुपरिनटेन्डेन्ट डाक्टर हेमन्त बास्तोलाले बताउनुभयो । उहाँले यस कार्यक्रमले उद्धारमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका साथै एम्बुलेन्स सेवाको प्रभावकारिता तथा अस्पतालमा अकस्मिक उपचारको व्यवस्थापनमा रहेका कमीकमजोरीहरु पत्ता लाग्ने र सुधारमा रचनात्मक सहयोग पुग्ने अपेक्षा समेत गरिएको जानकारी दिनुभयो ।

आकस्मिक अवस्थामा प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सकिने क्षमताको परीक्षणका साथै दुर्घटनापछि तत्काल उद्धार तथा उपचारको प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यले यस्तो अभ्यास सञ्चालन गरिएको अस्पतालले जनाएको छ । अभ्यास कार्यक्रमपछि अस्पतालको सभाहलमा सरोकारवालाबीच अन्तत्र्रिmया तथा छलफल समेत गरिएको थियो । प्रदेश अस्पताल बेनी म्याग्दीको व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँको समापनमा सम्पन्न कार्यक्रममा मेडिकल सुपरिनटेन्डेन्ट डा. बास्तोलाले सहजीकरण गर्नुभएको थियो ।




