• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

हिमाली जिल्ला म्याग्दीका महिलाहरुलाई लक्षित गरेर सञ्चालित निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । एकीकृत सेवा कार्यालय म्याग्दीको आयोजना र म्याग्दी बहुमुखी क्याम्पसको समन्वयमा महिलाहरुलाई तालिम दिइएको हो ।

यही चैतको ८ गतेदेखि २८ गते (२०) दिन शनिवारसम्म सञ्चालन भएको तालिममा विभिन्न २० जना महिलाहरुले सहभागिता जनाएको एकीकृत सेवा कार्यालय म्याग्दीले जनाएको छ । तालिम अवधिभरमा लोकसेवा आयोग सम्बन्धी विभिन्न विषयहरुमा आधारित रहेर सहजीकरण गरिएको एकीकृत सेवा कार्यालय प्रमुख सम्सेर घर्ति क्षेत्रीले जानकारी दिनुभयो ।

महिलाहरुलाई निजामति सेवाप्रति आकर्षित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो । तालिमको समापन सत्रलाई सम्बोधन गर्दै म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख भोलानाथ घिमिरेले एकीकृत सेवा कार्यालय म्याग्दीले महिलाहरुलाई लक्षित गरेर सञ्चालन गरेको लोकसेवा तयारी कक्षाको तालिमले महिला जनशक्तिलाई देशभित्रै टिकाइराख्न सहयोग पु¥याउने बताउनुभयो । उहाँले सरकारी सेवामा प्रवेश गराउन र महिला सशक्तिकरणमा समेत तालिमले सकारात्मक प्रभाव पार्ने भएकाले आयोजकलाई धन्यवाद दिनुभयो ।

एकीकृत सेवा कार्यालय प्रमुख क्षेत्रीले निःशुल्क लोकसेवा तयारी कक्षाले महिलाहरुको निजामति सेवा तथा राष्ट्रसेवामा आकर्षण बढ्ने बताउँदै आगामी दिनमा तालिमका सहभागीहरु राष्ट्रसेवक बनेको देख्न पाऊँ भन्ने आफ्नो  अपेक्षा सुनाउनुभयो । कार्यालय प्रमुख क्षेत्रीको अध्यक्षतामा सम्पन्न तालिम समापनसत्रमा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीको विशेष उपस्थिति रहेको थियो ।

एकीकृत सेवा कार्यालय म्याग्दीले जिल्लामा तालिम, गोष्ठीलगायत विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । यसअघि सामाजिक विकास कार्यालय र पर्यटन तथा उद्योग कार्यालय रहेकोमा ती दुई कार्यालय एकापसमा गाभिएर अहिले एकीकृत सेवा कार्यालय बनेको हो ।