पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले मङ्गलवारदेखि शैक्षिक सत्र–२०८३ को विद्यार्थी भर्ना अभियान सुरु गर्ने निर्णय गरेको छ । सोमबार गाउँपालिकामा बसेको शिक्षा समितिको बैठकले विद्यार्थी भर्नासँगै विद्यालयहरुमा पठनपाठन पनि सुरु गर्ने निर्णय गरेको हो ।
विगतका वर्षहरुमा बैशाख २ गतेबाट नयाँ भर्ना अभियानसँगै पठनपाठन सञ्चालन हुने गरेकोमा यसवर्ष सरकारको बैशाख १५ गतेदेखि भर्ना अभियान सुरु गर्ने निर्णयले विद्याथीहरुको अध्ययन अध्यापन कार्यमा अवरोध सिर्जना भएको भन्दै अभिभावकको समेत अनुरोधमा गाउँपालिकाले भर्ना अभियानका लागि अनुमति दिएको प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिनुभयो ।

बैठकमा गाउँपालिकामा भर्ना अभियानसँगै पठनपाठन केन्द्रीय कार्यक्रमहरु सञ्चालनमा आवश्यक समन्वय गरिने गाउँपालिका अध्यक्ष वेगप्रसाद गर्बुजाले बताउनुभयो । बैठकमा गाउँपालिकाको शिक्षा शाखा प्रमुख अशोक रिजाल, निजी तथा आवासीय विद्यालयहरुको अर्गनाईजेशन (प्याप्सन) म्याग्दीका अध्यक्ष हिरा पुन लगायतको उपस्थिति रहेको थियो । म्याग्दीका अन्य स्थानीय तहले भने संघीय सरकारको निर्णय अनुसार हालसम्म सार्वजनिक रुपमा भर्ना अभियान कार्यक्रम सुरुवात गरेका छैनन् ।
शिक्षा मन्त्रालयले बैशाख २ गतेदेखि १५ सम्म विद्यालयको कार्ययोजना, वार्षिक कायतालिका, शैक्षिक योजना निर्माण, शिक्षकको पेशागत दक्षता, सिकाइ उपलब्धि लगायतका लागि गर्नुपर्ने कार्यहरु गर्न भनेको छ । यस वर्षको नयाँ शैक्षिक शत्र बैशाख १५ देखि भर्ना अभियान सुरु गरी २१ गतेबाट पठनपाठन सञ्चालन गर्न आग्रह गरिएको छ । यसपटक पेट्रोलियम पदार्थको अभाव र विद्यालयको शैक्षिक कार्ययोजना निर्माणका लागि दुई साता ढिलो गरी भर्ना अभियान सञ्चालन गरिने भएको हो ।

विद्यार्थी भर्ना अभियान भौगोलिक अवस्था अनुसार गर्न सकिने भएकाले गाउँपालिका सेवा क्षेत्रभित्र कुनै पनि समस्या नभएकाले बैशाख ८ गतेदेखि नै सुरु गरिएको मालिका गाउँपालिकाले जनाएको छ । यसवर्ष शैक्षिक सत्र ढिलो सुरु गर्न लागिएकाले देशका कतिपय स्थानीय तहले आवश्यक निर्णय गरी विद्यार्थी भर्ना अभियान तथा पठनपाठन सुरु गर्ने तयारी थालेका छन् ।



