मंसिर २७, २०८२ शनिवार । रुप्से न्यूज
म्याग्दी– ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बेनी नगरपालिका च्याम्पियन बनेको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा दुई दिनसम्म सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा सञ्चालित प्रतियोगितामा बेनी नगरपालिकाले अरु पाँचवटा गाउँपालिकालाई पराजित गरी उपाधिमाथि कब्जा जमाएको हो ।
शुक्रवार सम्पन्न प्रतियोगिता अन्तर्गत कुल २५ स्वर्ण, १४ रजत र ६ कास्यसहित ४५ वटा पदक जित्दै बेनी नगरपालिकाले उपाधि हात पारेको आयोजकले जनाएको छ । प्रतियोगितामा ८ स्वर्ण, ५ रजत र ३ कास्यपदकसहित १६ वटा पदक जितेर अन्नपूर्ण गाउँपालिका द्वितीय र ६ स्वर्ण, १२ रजत र १० कास्यपदकसहित रघुगंगा गाउँपालिका तृतीय बनेको छ ।

प्रतियोगितामा म्याग्दीका ६ वटा पालिकाबाट ४५ एकल तथा सामूहिक खेलका लागि करिब ४ सय विद्यार्थी खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिताको विधागत प्रतिस्पर्धामा कबड््डीमा छात्रछात्रा दुवै समूहमा बेनी नगरपालिका प्रथम भएको छ । बेनी नगरपालिकाकाले छात्रमा अन्नपूर्ण र छत्रातर्फ मालिका गाउँपालिकालाई पराजित गरेको थियो । प्रतियोगितामा छात्र भलिबलतर्फ मालिका गाउँपालिका र छात्रातर्फ बेनी नगरपालिकाले उपाधि हात पारेको जिल्ला खेलकुद विकास समितिका सचिवालय व्यवस्थापक वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने पालिका तथा खेलाडी, खेलकुद अफिसियललाई पूर्व राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बीर), बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, बेनी नगरपालिका ७ नम्बर वडाका वडा अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठ, वडा नं ८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्य, नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी र राष्ट्रि«य महिला भलिबल टिमका कप्तान अरुणा शाही लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम हुने पालिकालाई नगद २० हजार रुपैयाँको साथमा रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र तथा द्वितीय र तृतीय हुने पालिकालाई क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गर्नुका साथै पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगितामा समेत उत्कृष्ट खेलका लागि आवश्यक सम्पूर्ण सहयोगहरु गरिने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।
पालिकास्तरमा पहिचान भएका नयाँ प्रतिभावान् खेलाडीहरुलाई जिल्ला तथा प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुग्नका लागि जिल्ला खेलकुद समितिमार्फत आवश्यक प्रशिक्षणसहित प्रोत्साहनका कार्यक्रमहरु सञ्चालनलाई निरन्तरता दिइने अध्यक्ष श्रेष्ठले बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षता र कोषाध्यक्ष नगेन्द्र मल्लले पुरस्कार वितरण तथा समापन कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

विगतको समयमा वीरेन्द्र शिल्ड खेलकुद प्रतियोगिताको नाममा जिल्लास्तरमा सञ्चालन हुँदै आइरहेको यस प्रतियोगिता देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै अहिले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको नाममा परिणत भएर सञ्चालन हुँदै आएको छ । यसअघि पालिकास्तरमा भएको प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु छनोट गरी जिल्लास्तरमा खेलकुद पतियागिता सञ्चालन गरिएको थियो ।



