प्रदेश जनस्वास्थ्य कार्यालय म्यादीको आयोजनामा मङ्गलवार विश्व क्षयरोग दिवसको अवसरमा पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नारासहित म्याग्दीमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुसँग अन्तर्क्रिया गरी दिवस मनाइएको हो ।
कार्यक्रममा प्रस्तुतीकरण गर्दै प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख भूवन ठकुराठीले क्षयरोग मूलतः सरुवा रोग भएकाले यो हावाको माध्यमबाट सर्ने गरेको बताउनुभयो । उहाँले हावाको माध्यम तथा हाँछ्यु गर्दा, खोक्दा र बोल्दा समेत किटाणुहरु मानिसको शरिरमा प्रवेश गरेर फोक्सोमा पुग्ने बताउँदै क्षयरोग मुख्य गरी धेरै जना एउटै कोठामा बस्ने र श्वासप्रश्वासको कारणले एकअर्कामा सर्ने बताउनुभयो ।
एकलाख जनसंख्यामा २ सय ४५ जना संक्रमितको पहिचान हुनुपर्ने भए पनि म्याग्दीमा अहिले ६० देखि ६५ जना मात्रै वार्षिक रुपमा संक्रमितहरुको पहिचान हुने गरेको कार्यालय प्रमुख ठकुराठीले बताउनुभयो । विश्वमा क्षयरोगीहरु सबैभन्दा धेरै भारतमा रहेको बताउँदै त्यहाँ कुल संक्रमितमध्ये २८ प्रतिशत बिरामीहरु रहेका छन् । विश्वका विभिन्न ८ वटा देशमा मात्रै कुल संक्रमितहरुमध्ये २ तिहाई क्षयरोगका बिरामीहरु रहेको उहाँले जानकारी दिनुभयो । तथ्याङ्क अनुसार विश्वमा क्षयरोगको संक्रमणबाट ४ लाख ५० हजार जनसंख्या प्रभावित छन् ।
चालु आर्थिक वर्ष २०८२/०८३ को फागुन मसान्तसम्म हिमाली जिल्ला म्याग्दीमा कुल ३१ जना क्षयरोगका संक्रमितहरुको पहिचान भएको छ । तीमध्ये सबैभन्दा धेरै बेनी नगरपालिकामा १३ जना रहेका छन् भने मालिका गाउँपालिकामा ७, अन्नपूर्णमा ५, मंगलामा ३, रघुगंगामा २ र धवलागिरि गाउँपालिकामा १ जना मात्रै रहेको संक्रमितको पहिचान भएको छ । म्याग्दीमा एकलाख भन्दा धेरै जनसंख्या रहेकोमा सो अनुसार संक्रमितको पहिचान हुनुपर्नेमा स्क्रिनिङ क्याम्पलगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रम तथा सचेतनाको अभावले तोकिएको संख्या अनुसार कम संक्रमितहरु फेला परेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

क्षयरोग लागेको एकजना संक्रमितले कम्तीमा १५ देखि २० जनासम्म यो रोग सार्ने गरेको विभिन्न तथ्य र तथ्याङ्कमा उल्लेख गरिएको छ । कार्यक्रममा सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले क्षयरोगको विरुद्धमा पत्रकारिताको क्षेत्र र सञ्चारमाध्यमबाट सकारात्मक सूचना तथा समाचारजन्य सामग्रीहरु सम्प्रेषण गरेर सचेतना फैलाउने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको समापन गर्दै कार्यालय प्रमुख ठकुराठीले म्याग्दीसहित देशैभर क्षयरोग संक्रमणदर बढेकाले सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन मिनराज न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो । म्याग्दीको बेनी अस्पताल, दरबाङ आधारभूत अस्पताल, ताकम र भू–तातोपानी स्वास्थ्यचौकीमा क्षयरोगको संक्रमण भए नभएको बारेमा खकार परीक्षण गर्ने व्यवस्था रहेको छ । यसैबीच मङ्गलवार म्याग्दीसहित देशैभर विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरेर यो दिवस मनाइएको छ ।

नेपालले अबको ९ वर्ष अर्थात् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डाक्टर भुवन पौडेलका अनुसार एक वर्षमा ६७ हजार नयाँ क्षयरोगका बिरामीहरु फेला परेका छन् । सक्रिय उमेर समूहमै यो रोगको संक्रमण बढी भएकाले अरुमा सर्ने जोखिम पनि धेरै रहेको केन्द्रले जनाएको छ । उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशतमा फोक्सो सम्बन्धी र २८ प्रतिशतमा फोक्सोबाहेक अरु अङ्गमा क्षयरोग देखिने गरेको छ ।
मानिसमा कसरी सर्दछ क्षयरोग ?
लगातार खोकी लाग्ने, ज्वरो आउने, रोग लागेको लामो समयपछि खोकीमा रगत देखापर्ने, तौल घट्ने र छाती दुख्ने वा असजिलो महसुस हुने जस्ता लक्षणहरु देखापरेमा जाँच गर्न छातीरोग विशेषज्ञ डा. पुष्पा मल्लको सुझाव छ । क्षयरोगबाट बच्नको लागि चुरोट तथा रक्सी नखान, बढी धुवाँ वा धुलोबाट बच्न, खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख र नाक छोप्न, बालबालिकामा निश्चित समयमा बीसीजी खोप लगाउन र क्षयरोग लागेका व्यक्तिबाट अरुमा सर्ने भएकाले सावधानी अपनाउन विज्ञहरुको सुझाव रहेको छ ।

क्षयरोग नियन्त्रणका लागि सरकारले छ हजार २ सय ४१ स्वास्थ्य संस्थाहरुमा क्षयरोग उपचार सेवा सञ्चालन गरेको छ । १ सय ४२ संस्थामा द्रूत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालन भैरहेको छ । केन्द्रका अनुसार देशभरी औषधी–प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्रहरु सञ्चालनमा रहेका छन् । १ सय ४९ पालिकामा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरिएको छ ।
अझै ४२ प्रतिशत बिरामी उपचारको पहुँचमा आउन नसकेको भन्दै केन्द्रले ११ प्रतिशत बिरामी र तिनका परिवारलाई आर्थिक भार, सामाजिक भेदभाव र पर्याप्त स्रोतसाधनको अभावले चुनौती थपिँदै गएको जनाएको छ । क्षयरोग नियन्त्रणका लागि सरोकारवाला सबै लाग्नुपर्ने देखिन्छ ।




