पुस २१, २०८२ सोमबार । रुप्से न्यूज
म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा आधुनिक सुविधासम्पन्न भलिबलको कभर्डहल निर्माण गर्नका लागि आर्थिक सहयोग सङ्कलन अभियान सुरु भएको छ । नेपालको राष्ट्रि«य खेल तथा लोकप्रिय खेलको सूचीमा रहेको भलिबलको प्रशिक्षण तथा खेललाई कर्भडहलमा सञ्चालन गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघद्वारा जग्गा खरिद र कभर्डहल बनाउन शनिवार एक समारोहबीच सहयोग सङ्कलन अभियान घोषणा गरिएको हो ।
राष्ट्रिय महिला भलिबल टोलीका क्याप्टेन अरुणा शाही, कमला पुनसहित राष्ट्रि«य तथा क्षेत्रीयस्तरमा खेलाडीहरु उत्पादन गरेको म्याग्दीले थप नयाँ खेलाडी उत्पादन तथा प्रतियोगिताहरू खुल्ला आकाशमा हुने गरेकोमा अब कभर्डहलमा गर्ने गरी अभियान सुरू भएको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । कभर्डहल निर्माणका लागि आवश्यक पर्ने बेनी नगरपालिका–७, बौद्धबिहार नजिकै दुई रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजार रुपैयाँको लागतमा जग्गा खरिद गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिने संघका महासचिव कुमार किसानले बताउनुभयो । कभर्डहल निर्माणमा स्थानीय तह, प्रदेश, संघ सरकार र जिल्लावासीहरुबाट सहयोगको अपेक्षा गरिएको उहाँको भनाइ छ । कभर्डहलमा १ हजार जना दर्शकहरु अटाउने क्षमताको भलिबल कोर्ट, जिमहल, कपडा फेर्ने कोठा, बैठक कक्ष, चमेनागृह, प्याराफिट, विद्युत्, ध्वनी उपकरण, एसी, शौचालय, सयन कक्ष, एलसिडी बोर्ड, जेनेरेटरसहित अन्य इन्डोर खेलकुदका विधालाई समेत स्थान दिइनेछ ।
भलिबलको कभर्डहल चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने कुल साढे तीन करोडको लागत लाग्ने अनुमान गरिएको छ । भलिबल संघको आफ्नै जग्गा नहुँदा संरचना बनाउन सरकारी बजेटको सुनिश्चिततामा समस्या भैरहेको छ । सहयोग सङ्कलन अभियान घोषणाको पहिलो दिन शनिवार अध्यक्ष बानियाँले एकलाख, व्यवसायीहरु नरेन्द्र बस्नेत, जीवन खत्री, ईश्वर आचार्य, भीमनाथ शर्माले ५०–५० हजार र चिरञ्जीवी शर्माले २५ हजार रुपैयाँ सहयोग घोषणा गर्नुभएको म्याग्दी जिल्ला भलिबल संघले जनाएको छ ।

वि.सं. २०८० सालमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेको सहयोगमा स्थापना गरिएको ४७ लाखको अक्षयकोषमा रकम वृद्धि गरी त्यसको व्याजबाट खेल प्रशिक्षण तथा प्रतियोगिताहरु सञ्चालन गरिएको छ । जिल्लामा विद्यालयस्तरीय म्याग्दी भलिबल कप तथा प्रशिक्षण समेत दिने गरेको संघमार्फत खेलाडी उत्पादन तथा प्रोत्साहनका कार्यहरु नियमित रुपमा भैरहेका छन् । कभर्डहल निर्माण गर्ने योजनालाई प्रवासमा रहेका म्याग्देली, सरकारी निकाय, स्थानीय तह, जिल्लाका जनप्रतिनिधिहरु, राजनीतिक दल र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् ।



