• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

पुस २१, २०८२ सोमबार । रुप्से न्यूज

म्याग्दी– न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट पुनः अमृतलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बेनीको न्यूरोडमा मुख्य कार्यालय रहेको सहकारीको शनिवार सम्पन्न निर्णय प्रमाणित सभासहित अधिवेशनबाट आगामी ४ वर्षका लागि अध्यक्षमा श्रेष्ठसहित नयाँ कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनबाट सहकारीको उपाध्यक्षमा रामजीप्रसाद सुवेदी, सचिवमा चन्द्रकुमार केसी, कोषाध्यक्षमा बमबहादुर पुन, कार्यसमिति सदस्यहरुमा अनुशा गौचन, हेमन्त थापा, तुलप्रसाद श्रेष्ठ, भीमबिक्रम मल्ल र अमित बानियाँ चयन हुनुभएको छ । यसैगरी वीरेन्द्रमान शाक्यको संयोजकत्वमा गठन भएको लेखा तथा सुपरिवेक्षण समितिको सदस्यमा खड्ग गिरी र अनिता केसी खड्का रहनुभएको छ ।

यही पुस ११ गतेदेखि सेवा केन्द्र एकाइगत साधारणसभा सुरु गरेको संस्थाको इकाई प्रतिनिधिहरुको उपस्थितिमा धवलागिरी गाउँपालिकाको मुनामा मदन मल्ल, अन्नपूर्णको पोखरेबगरमा ठगराज बरुवाल, मंगलाको बाबियाचौरमा देवीकुमारी खत्री, मालिकाको दरबाङमा मुक्ति पुन, पर्वतको जलजला गाउँपालिकामा हेमन्त थापा, बेनी नगरपालिकामा बिपिन चोखाल र बेनीको तातोपानीमा तुलप्रसाद श्रेष्ठलाई सेवा केन्द्रको संयोजक चयन गरिएको सचिव केसीले जानकारी दिनुभयो ।

वि.सं. २०५६ सालमा स्थापना भएको यस सहकारीको हाल आठ करोड ८० लाख ८९ हजार शेयर पूँजी रहेकोमा गएको आर्थिक वर्ष २०८१/०८२ मा ५३ करोड १४ लाख ७८ हजार निक्षेप सङ्कलन र ५२ करोड १२ लाख रुपैयाँ कर्जा लगानी रहेको छ । संंस्थाको नौ करोड ६८ लाख ९७ हजार कुल आम्दानी र सात करोड ७७ लाख खर्च भएकोमा एक करोड ९१ लाख ६६ हजार रुपैयाँ मुनाफा रहेको छ ।

बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले साधारणसभाको उद्घाटन गर्दै सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्नका लागि सहजीकरण गरिएको बताउनुभयो । सोही अवसरमा म्याग्दी बहुमुखी क्याम्पसमा स्नातकोत्तर अध्ययनरत सोमप्रसाद सापकोटालाई १५ हजार पाँचसय छात्रवृत्ति सहयोग गरेको सहकारीले मानव सेवा आश्रम बागलुङलाई २५ हजार पाँचसय ५५, दरबाङकी पार्वती कामीलाई अध्ययनका लागि १२ हजार र तातोपानीस्थित लेतेखोलाको कृषि सहकारीको भवन मर्मतमा ६० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ ।