प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी हुनुभएको छ । शनिवार बिहान सार्वजनिक भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार उम्मेदवार पुन फराकिलो मतान्तरसहित विजयी बन्नुभएको हो । स्वतन्त्र उम्मेदवार पुनले अरुले भन्दा दोब्बर बढी मत पाउनुभएको छ ।
स्वतन्त्र उम्मेदवार पुनले प्रतिनिधि सभाको निर्वाचनमा कुल खसेको मतमध्ये २२ हजार ८ सय ५० मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६ सय ७३ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुृनबहादुर थापाले ३५ सय २९ मत पाउनुभएको छ ।
प्रतिनिधि सभा सदस्य पदमा निर्वाचन लड्नुभएका पुन वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्नुभएको थियो । उहाँ उम्मेदवारी दर्ता गर्नुभन्दा केही समय अगाडि मात्रै शिक्षा मन्त्रीको पदबाट राजिनामा दिएर म्याग्दीमा निर्वाचन लड्न आउनुभएको थियो ।
यसपटकको निर्वाचनमा जिल्लाभर कुल ८६ हजार ३ सय ९७ जना मतदाता रहेकोमा बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जम्मा ४६ हजार २ सय १५ अर्थात् ५३ दशमलव ०५ प्रतिशत मात्रै मत खसेको थियो ।


