• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

पश्चिम म्याग्दीको मालिका गाउँपालिका २ नम्बर वडास्थित पर्यटकीयस्थल दुरलेकमा सिद्ध देवताको मन्दिर निर्माण भएको छ । यसअघि उक्त स्थानमा ढुङ्गाको थानमा मात्र पूजाआजा गर्ने प्रचलन रहेको थियो ।

स्थानीय सामाजिक संस्था दिपज्योति युवा क्लबको सक्रियता र अगुवाइमा निर्माण गरिएको मन्दिरको मङ्गलवार एक समारोहबीच मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो । नवनिर्मित मन्दिरको उद्घाटन गर्दै उहाँले मन्दिर निर्माणसँगै दुरलेकलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मालिका गाउँपालिको सबैभन्दा अग्लो ठाउँमा रहेको दुरलेक धेरै विशेषताहरु भएकाले पर्यटनको प्रचुर सम्भावनासँगै बहुमुल्य जडिबुटीको पनि व्यावसायिक उत्पादन रहेको अध्यक्ष गर्बुजाले बताउनुभयो । दुरलेक क्षेत्रमा क्षेत्रमा हाई अल्टिच्युटको खेलमैदान समेत निर्माण गर्न सकेमा खेल पर्यटनको पनि उचित गन्तव्य बनाउन सकिने सम्भावना रहेको उहाँको भनाइ छ । गाउँपालिकाले उक्त क्षेत्रको विकासका लागि सडक, पदमार्ग र अन्य पूर्वाधारहरु निर्माणमा जोड दिएको र आगामी दिनमा थप पर्यटक तथा भक्तजनलाई आकर्षित गर्न प्रदेश र संघीय सरकारसँग समन्वय गरी थप पूर्वाधारहरु विकास गरिने प्रतिबद्धता समेत अध्यक्ष गर्बुजाले जनाउनुभयो ।

अध्यक्ष गर्बुजाले पर्यटकीय क्षेत्रको विकासमा स्थानीयवासीको सक्रिय सहभागिता र सहयोग अपरिहार्य रहेकोमा जोड दिनुभयो । मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष ललित रोकाले मन्दिर निर्माणका लागि करिब एकलाख ५० हजार रुपैयाँ बराबरको श्रमदान तथा एकलाख ४० हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग सङ्कलन गरिएको बताउनुभयो । उहाँले मन्दिर निर्माणसँगै पर्यटकीय क्षेत्र दुरलेकको थप प्रचारप्रचार हुने तथा रुम गाउँमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

सिद्ध देवताको दर्शन र पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । मालिका २ नम्बर वडाका वडा अध्यक्ष उदयकुमार बुढाथोकीले दुरलेक पहिले गौचरनको रूपमा चिनिने भए पनि पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको बताउनुभयो । स्थानीय तह, वडा, गाउँपालिका तथा प्रदेश सरकारको साझेदारीमा सडक, पदमार्ग, आश्रयस्थल लगायतका पूर्वाधारहरु निर्माण गरिएको जानकारी दिँदै उहाँले दुरलेकमा रेलिङ, प्रतिक्षालय, खानेपानी तथा शौचालय जस्ता आधारभूत संरचनाहरुको आवश्यकता रहेको बताउनुभयो ।

समुन्द्री सतहदेखि ३ हजार ५ सय मिटरको उचाइमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीयस्थल दुरलेक क्षेत्रमा एकाबिहानैको सुर्योदय, साँझको सूर्यास्त, जडीबुटीहरु, विभिन्न प्रजातिका लालिगुराँस, जङ्गली जनावर तथा पशुपंक्षीहरु, सुन्दर ग्रामीण वस्ती, तरेली परेका डाँडा र पहाडहरु तथा मनोरम हिमश्रृङ्खलाहरुको दृश्यहरु अवलोकन गर्न सकिने स्थानीय दुर्गे पुनले बताउनुभयो । मन्दिर उद्घाटन समारोहमा वडा सदस्यहरु भक्तबहादुर पुन, कुमारी पुन, समाजसेवी र स्थानीयवासी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

पर्यटकीयस्थल दुरलेकमा म्याग्दीको पश्चिमी भेग र छिमेकी जिल्ला बागलुङबाट विशेष गरी आन्तरिक पर्यटकहरुको चहलपहल हुने गरेको स्थानीयवासी बताउँछन् । यहाँ विभिन्न विद्यालयहरुबाट शैक्षिक भ्रमणको साथसाथै वनभोज खानको लागि पनि मानिसहरु पुग्ने गरेका छन् ।