• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com
असार २, २०८२ सोमबार । रुप्से न्यूज
म्याग्दी– ‘महिला अधिकारको सम्मान : आत्मनिर्भरता हाम्रो अभियान’ भन्ने नारासहित महिलालक्षित उद्घोषणकला तथा क्षमता विकास सम्बन्धी तालिम आइतबार सम्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिका–८ नम्बर वडा कार्यालय र मिलन म्याग्दीको आयोजनामा तालिम सञ्चालन गरिएको थियो ।
महिलाहरुमा व्यक्तित्व, नेतृत्व र क्षमताको विकास गराउन, उद्घोषण तथा भाषणकला सिकाउन, प्रस्तावनालेखन, वैठक सञ्चालनसँगै माइन्यूटलेखनमा दक्ष बनाउने उद्देश्यसहित तालिम आयोजना गरिएको थियो । तीन दिनसम्म चलेको तालिममा क्षमता विकास, उद्घोषण तथा भाषणकला, व्यक्तित्व र नेतृत्व सम्बन्धी विकास, प्रस्तावनालेखन, मानवता, उत्प्रेरणा, सकारात्मक सोचलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।
तालिमको मोटिभेसनल स्पिकर चन्द्रकुमार केसी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, निवर्तमान सचिव सन्तोष गौतम, वर्तमान सहसचिव प्रताप बानियाँ, मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालु र कर्मचारी बालकुमारी पुनले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी र वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले तालिमको अनुगमनसँगै प्रशिक्षणात्मक मन्तव्य समेत व्यक्त गर्नुभएको थियो ।
तालिमको क्रममा सहभागी महिलाहरुलाई विभिन्न तीन समूहमा विभाजन गरी छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्न लगाउनुका साथै प्रयोगात्मक अभ्यास समेत गराइएको थियो । तालिममा वडानम्बर ८ बेनीमा क्रियाशील फुलबारी आमा समूह, महिला उद्यम विकास समिति, कालीगण्डकी आमा समूह र अन्य संघसंस्थाबाट महिलाहरुले सक्रिय सहभागिता जनाएका थिए ।
तालिमको समापनसत्र सहभागी सेतीमाया पुनको अध्यक्षता, वडाध्यक्ष कर्माचार्यको प्रमुख आतिथ्य र अस्मिता सेन्चुरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागीहरु रसिला परियार, रामकुमारी गौचन, रेनु मल्ल, गोमा भट्टराई, विमला छन्त्याल र पवित्राकुमारी चोखालले तालिमको अनुभव सुनाउनुभएको थियो । तालिममा ३८ जना महिलाहरुले सहभागिता जनाएका थिए ।