• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

जनकल्याण मावि अक्षयकोषको शुक्रवार सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा स्थापित अक्षयकोषको वार्षिक साधारण सभासहित पुरस्कार वितरण, सम्मान कार्यक्रम तथा अभिभावक भेला गरिएको हो ।

सातौँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै बेनी नगरपालिका वडानम्बर ५ का वडा अध्यक्ष गोविन्द बानियाँले जनकल्याण मावि अक्षयकोषले शिक्षाको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले जनकल्याण माविको शैक्षिक गुणस्तर वृद्धि गर्ने कार्यमा अक्षयकोषले सहयोग पु¥याएको बताउँदै आगामी दिनमा कोषमा रकम वृद्धि गर्नेतर्फ सबै लाग्नुपर्नेमा सुझाव दिनुभयो ।

जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पढाइमा जनकल्याण मावि अक्षयकोषले सहयोग पुगेको बताउँदै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्नेतर्फ वडा र नगरपालिकाको कार्यालयमार्फत आवश्यक पहल भैरहेको बताउनुभयो । विद्यालयका पूर्व अध्यक्ष एवं शैक्षिक व्यक्तित्व माधवप्रसाद रेग्मीले जनकल्याण माविमा स्थापित अक्षयकोषमा पछिल्लो समय सहयोग आउने क्रम बढ्दै गैरहेकाले शैक्षिक गुणस्तर वृद्धि गर्नेतर्फ विद्यालयको उद्देश्य पुरा हुनुपर्ने बताउनुभयो ।

पूर्व अध्यक्ष रेग्मीले अक्षयकोषको मुख्य लक्ष्य विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने रहेकाले शिक्षकलाई सहुलियत, विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोगलगायत क्षेत्रमा कोषको रकम परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालयका नवनियुक्त प्रधानाध्यापक गजिन्द्र श्रेष्ठले विद्यार्थीहरुलाई नियमित कक्षाको साथसाथै अतिरिक्त कक्षाको समेत आवश्यकता रहेकाले त्यसका लागि सम्पूर्ण अभिभावकहरुले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले कक्षा माथि हुने तथा शैक्षिक उपलब्धि न्यून हुने विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्नेतर्फ जेठ महिनादेखि अतिरिक्त कक्षा सञ्चालन गर्ने तयारी गरिएको समेत जानकारी दिनुभयो ।

साधारणसभाको उद्घाटसत्रमा जनकल्याण मावि अक्षयकोषका अध्यक्ष रामप्रसाद सुवेदीले संस्थागत, सचिव कमलप्रसाद पौडेलले प्रगति र कोषाध्यक्ष शान्ति शर्मा पौडेलले लेखासहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै अक्षयकोषका संस्थापक अध्यक्षसमेत रहनुभएका वतर्मान अध्यक्ष सुवेदीले पुलाचौरमै कक्षा ११ र १२ कक्षा सञ्चालन गर्ने गरी वि.सं. २०७५ सालमा अक्षयकोष स्थापनाको अवधारणा ल्याएर सोही अनुसार अक्षयकोष निर्माण गरी अगाडि बढाइएको बताउनुभयो । उक्त अक्षयकोषमार्फत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान, शैक्षिक सामग्री वितरण तथा विद्यालयलाई आर्थिक सहयोग गरिँदै आइएको छ ।

सोही कार्यक्रमको अवसरमा ‘हामी बनाउँछौँ हाम्रो विद्यालय, विद्यालय व्यवस्थापन एवं शैक्षिक गुणस्तर अभिवृद्धि वर्ष–२०८३’ मा विद्यालयलाई समाजसेवी बागविर दर्जीका छोरा कमल दर्जीले कतारबाट नगद २५ हजार पाँचसय ५५, विद्यालयका शिक्षक टिकाराम दर्जीबाट १० हजार र विद्यालयको भूपू शिक्षक अभिभावक संघका अध्यक्ष राजु केसी हाल अमेरिकाबाट नगद पाँचहजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो । सहयोगीदाता र उहाँका परिवारलाई सोही कार्यक्रममा सम्मान समेत गरिएको थियो ।

यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तिलकप्रसाद श्रेष्ठलाई दोसल्ला र कदरपत्रसहित सम्मान गर्नुका साथै नवनियुक्त अध्यक्ष खड्कप्रसाद श्रेष्ठलाई स्वागत गरिएको थियो । त्यस्तै नवआगन्तुक शिक्षकलाई स्वागत गरिएको थियो भने शैक्षिक सत्र २०८२ सालको वार्षिक परीक्षामा उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । कार्यक्रम अक्षयकोषका अध्यक्ष सुवेदीको अध्यक्षता, उपाध्यक्ष देवीदत्त पौडेलको स्वागत र संस्थापक सचिव शिव बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।