• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित बेनी सामुदायिक माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक स्व. तीर्थकुमारी श्रेष्ठको स्मृतिमा प्रकाशित पुस्तक ‘तीर्थ मिस र बयासीका बाईस वियोग’ विमोचन भएको छ । विद्यालयको ७२औं वार्षिकोत्सव तथा स्व. श्रेष्ठको ७२औं जन्मजयन्तीको अवसर पारेर बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले एक समारोहबीच उक्त पुस्तकको विमोचन गर्नुभएको हो ।

सृजना श्रेष्ठ प्रकाशक रहेको यस स्मृति सङ्ग्रहको लेखन तथा सम्पादन लेखक अजयमिलन श्रेष्ठले गर्नुभएको थियो । विमोचन समारोहको अवसरमा म्याग्दीको शैक्षिक र सामाजिक इतिहासलाई पुस्तकमार्फत जीवन्त राख्न उत्कृष्ट योगदान पु¥याएवापत लेखक अजयमिलन श्रेष्ठ र प्रकाशक सृजना श्रेष्ठलाई दोसल्ला ओढाएर तथा कदरपत्रद्वारा विशेष सम्मान गरिएको थियो ।

प्रकाशित पुस्तकको विमोचन गर्दै नगर प्रमुख केसीले स्व. श्रेष्ठले म्याग्दीको शैक्षिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले विद्यालयको शैक्षिकस्तर सुधार गर्न र सामाजिक रूपान्तरणमा तीर्थ मिसले खेलेको नेतृत्वदायी भूमिका सधैँ प्रेरणाको स्रोत बनिरहने उल्लेख गर्नुभएको छ । साथै उहाँले स्व. श्रेष्ठको स्मृतिलाई जीवन्त राख्न र इतिहास संवद्र्धन गर्न लेखक अजयमिलन श्रेष्ठ तथा प्रकाशक सृजना श्रेष्ठले निभाएको भूमिकाको समेत प्रशंसा गर्नुभएको थियो ।

सोही समारोहमा कक्षा १० मा अध्ययनरत छात्रा एकता शाहलाई स्व. तीर्थकुमारी श्रेष्ठको सम्मानमा स्थापित ‘तीर्थकुमारी श्रेष्ठ छात्रवृत्ति पुरस्कार’ प्रदान गरिएको थियो । कार्यक्रममा स्व. श्रेष्ठका छोरी–ज्वाइँ जेनी थापा र रूपक महर्जन तथा भाइद्वय कृष्णप्रसाद श्रेष्ठ र प्रदीपकुमार श्रेष्ठ लगायतबाट स्व. श्रेष्ठको स्मृतिलाई पुस्तकमार्फत अमर बनाएकोमा आयोजक विद्यालयका साथै लेखक तथा प्रकाशक श्रेष्ठद्वयप्रति धन्यवादज्ञापन गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक भीमबहादुर घर्तीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहायक प्रधानाध्यापक काशीराम रेग्मीले स्वागत गरेको कार्यक्रमको शिक्षक मदन सुवेदीले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, विद्यार्थी, शिक्षाप्रेमी तथा स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।