म्याग्दीको सदरमुकाम बेनी नगरपालिका ७ बेनीबजार निवासी अमर बानियाँद्वारा लिखित ‘सुन्दर म्याग्दी’ नामको पुस्तक बुधवार विमोचन भएको छ । धौलागिरी पर्यटन परिषद विकास बेनी म्याग्दीको आयोजना र बेनी समाज काठमाडौंको सहआयोजनामा एक समारोहबीच पुस्तकको विमोचन गरिएको हो ।
धौलागिरी पर्यटन परिषद् विकास म्याग्दीका अध्यक्ष समेत रहनुभएका लेखक बानियाँले आफ्नो जन्मथलोको इतिहास, प्रकृति, संस्कृति र जीवनशैलीलाई समेटेर ‘सुन्दर म्याग्दी’ तस्विर पुस्तक प्रकाशन गर्नुभएको छ । म्याग्दी सदरमुकाम बेनीबजारमा बसेर विगत चार दशकदेखि फोटोग्राफी पेशा गर्दै आउनुभएका बानियाँको यो पुस्तक म्याग्दी चियाउने एउटा आँखीझ्याल बनेको छ ।

काठमाडौंस्थित भृकुटीमण्डपको नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, पूर्व मुख्य–सचिव तथा अमेरिकाका लागि नेपालका पूर्व राजदूत लोकदर्शन रेग्मी, प्रा.डा. प्रेम शर्मा, नेपाल पर्यटन बोर्डका जनसम्पर्क अधिकृत सुनिल शर्मा, संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य रेशमबहादुर बानियाँ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य सुविन श्रेष्ठ लगायतले घुुम्टो खोलेर पुस्तकको विमोचन गर्नुभएको थियो ।
पुस्तक विमोचन गर्ने अतिथिहरूसहित म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, बानियाँ बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर बिसी बानियाँ, बेनी समाज काठमाडौंका पूर्व अध्यक्ष याम श्रेष्ठ र पर्यटन पत्रकार अमृत भादगाउँलेले ‘सुन्दर म्याग्दी’ पुस्तक सबैका लागि सुन्दर उपहार भएको टिप्पणी गर्नुभएको थियो । रङ्गीन कलेवरमा प्रकाशित पुस्तकमा नेपाली र अङ्ग्रेजी भाषामा म्याग्दीको पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी उल्लेख गरिएको छ । म्याग्दीको विषयमा जान्न चाहने अध्यता, पर्यटक र म्याग्देलीलाई यो पुस्तक उपयोगी हुने कार्यक्रमका अतिथिहरुको भनाइ थियो ।

उक्त पुस्तक म्याग्दी जिल्ला भित्रका प्रमुख पर्यटकीय स्थलसहित सबै क्षेत्रलाई समेटेर प्रकाशन गरिएको लेखक बानियाँले जानकारी दिनुभयो । पुस्तकले म्याग्दीलाई चिनाउन निकै ठूलो भूमिका खेल्ने अपेक्षा समेत गरिएको छ भने म्याग्दी जिल्लाका पर्यटकीय गन्तव्यहरू, पदमार्गहरू, सांस्कृतिक सम्पदाहरू, चाडपर्व, होमस्टे, जैविक विविधता आदिको सुन्दर तरिकाले चित्रण गरिएको छ । धौलागिरि पर्यटन विकास परिषद म्याग्दीले प्रकाशन गरेको पुस्तकको मूल्य एकहजार रुपैयाँ राखिएको छ ।
पुस्तकका लेखक बानियाँले जन्मभूमिको ऋण तिर्ने प्रयास आफूले गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले फोटोग्राफी, पत्रकारिता र सामाजिक काममै जिन्दगी बिताएँ । फोटोग्राफी र पत्रकारिताबाट मातृभूमि म्याग्दी चिनाउने काम गर्दै आएको छु । त्यही अभियानस्वरुप ‘सुन्दर म्याग्दी’ पुस्तक प्रकाशन गरेको हुँ ।’ जन्मथलोको गुन तिर्नका लागि प्रकाशित पुस्तकले थप योगदान पु¥याउने ऊर्जा मिलेको लेखक बानियाँको भनाइ छ ।

लेखक बानियाँ फोटोग्राफी पेशासँगै जिल्लाको विभिन्न सामाजिक क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ । उहाँ अहिले नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखा र नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीको सभापति, फोटो पत्रकार महासंघ म्याग्दीको अध्यक्ष एवं केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ म्याग्दी र गैरसरकारी संस्था मिलन म्याग्दीको संस्थापक सदस्य तथा बानियाँ बन्धु समाज म्याग्दीको सल्लाहकार हुनुहुन्छ । यसैगरी उहाँ घरेलु तथा साना उद्योग महासंघ र निर्माण व्यवसायी संघ म्याग्दीको पूर्व अध्यक्ष पनि हुनुहुन्छ ।



