• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि ७५ करोड ५२ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको छ । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले प्रस्तुत गर्नुभएको आगामी आवको वार्षिक नीति तथा कार्यक्रम पारित भएपछि सो परिमाणको बजेट प्रस्तुत गरिएको हो ।

जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा सम्पन्न बेनी नगरपालिकाको १९औं अधिवेशनबाट बेनीका नगर उपप्रमुख ज्योति लामिछानेले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ५६ करोड चारलाख ५० हजार र पूँजीगततर्फ १९ करोड ४८ लाख २५ हजार रुपैयाँ बराबरको बजेट पारित भएको हो । नगरपालिकाले चालुतर्फ ७४ दशमलव २० प्रतिशत र पूँजीगततर्फ २४ दशमलव ८० प्रतिशत बजेट विनियोजन गरेको जनाएको छ ।

बेनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत ७५ करोड ५२ लाख ७५ हजारको बजेटबाट पर्यटन प्रवद्र्धन, कृषि उत्पादन, स्वास्थ्य सेवा, शिक्षा सुधार, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । बजेटले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ । बजेटका लागि संघीय र प्रदेश सरकारका विभिन्न अनुदान, राजस्व बाँडफाँट, सवारीसाधन कर तथा चार करोड ७१ लाख आन्तरिक आम्दानी गर्ने अनुमान गरिएको उपप्रमुख लामिछानेले बताउनुभयो ।

आर्थिक विकासतर्फ कृषि, पशुपालन, खानेपानी, सिँचाइ, उद्यमशीलता र पर्यटनलाई विशेष प्राथमिकता दिइएको छ । कृषि उपजको बजारीकरणका लागि पिपलचोकमा कृषि उपज सङ्कलन केन्द्र निर्माण, तरकारी उत्पादनमा आधारित अनुदान तथा कृषि क्षेत्र विकासका कार्यक्रमहरु सञ्चालन हुनेछन् । पशुपालनतर्फ दूध तथा पशुपन्छी उत्पादन प्रवद्र्धन, रोग नियन्त्रण, पशु स्वास्थ्य शिविर, औषधी व्यवस्थापन, सामुदायिक कुकुर दर्ता तथा बन्ध्याकरण कार्यक्रमलाई निरन्तरता दिइनेछ । खानेपानी र सिँचाइतर्फ साना योजनामा साझेदारी, विशिष्ट आयोजना र ‘एक घर, एक धारा’को अभियानलाई बजेटमार्फत अघि बढाइएको छ ।

रोजगारी प्रवद्र्धनका लागि ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम, युवाका लागि सीपमूलक तालिम तथा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सेवा पनि निरन्तर सञ्चालन गरिनेछ । पर्यटन विकासका लागि एक करोड १२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । गलेश्वर क्षेत्रको सौन्दर्यीकरण, पार्किङ तथा शवदाहस्थल निर्माण, सर्वोच्च अदालतको आदेशअनुसार रावणपार्कलाई रामायण पार्कका रूपमा विकास गर्ने योजना र बेनीबजारको लभ्लीहिल क्षेत्रलाई पर्यटकीय भ्यू–पोइन्ट बनाउने जस्ता कार्यक्रमहरु समेटिएका छन् ।

सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य र खेलकुदका कार्यक्रमलाई निरन्तरता दिँदै सामुदायिक विद्यालयका कर्मचारी तथा बालविकास सहजकर्ताको पारिश्रमिक १० प्रतिशतले वृद्धि गरिएको छ । छात्रवृत्ति, स्थानीय पाठ्यपुस्तक लेखन, बेनी रङ्गशाला, चुत्रेनी खेलमैदान तथा भलिबल प्रशिक्षण केन्द्र निर्माण र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बजेटको व्यवस्था गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा ‘ज्येष्ठ नागरिकको घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रमलाई निरन्तरता दिँदै नसर्ने रोगको निःशुल्क परीक्षण, संस्थागत सुत्केरीलाई प्रोत्साहन, स्वास्थ्यकर्मीलाई घरदैलोमा परिचालन तथा नगरस्तरीय र वडास्तरीय स्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गरिनेछ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने मूल नारासहित आगामी आवका लागि ल्याइएको वार्षिक नीति, कार्यक्रम र बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने नगर प्रमुख केसीले बताउनुभयो ।