‘लागूऔषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं’ भन्ने मूल नारासहित लागूऔषध नियन्त्रणका लागि यूवा साक्षरता कार्यक्रम सम्पन्न भएको छ । लागूऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा युवा साक्षरता कार्यक्रम गरिएको हो ।
लागूऔषधको दुरुपयोग तथा यसको बढ्दो जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले बिहीबार म्याग्दीको बेनी नगरपालिका ४ सिङ्गाको धवलागिरि माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको छ । मिलन म्याग्दी र लायन्स क्लब अफ म्याग्दी दोभान सिटीको संयुक्त आयोजना, जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्राविधिक सहयोग र बेनी नगरपालिका ४ नम्बर वडा सिङ्गा म्याग्दीको समन्वयमा कार्यक्रम गरिएको थियो ।
युवा विद्यार्थीमाझ लागूऔषधको असर, यसको कानुनी पक्ष, रोकथामका उपायहरु तथा सचेतनाको आवश्यकता सम्बन्धी विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममा सहभागीहरूलाई लागूऔषधको दुरुपयोगबाट व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा पर्ने नकारात्मक प्रभाव लगायतका विषयहरुमा जानकारी गराइएको थियो । युवा तथा विद्यार्थीहरुको सहयोगबाट समाजमा लागूऔषध दुव्र्यसनी विरुद्धको सचेतना फैलाउनका लागि कार्यक्रम गरिएको आयोजकको भनाइ छ ।

कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिका वडानम्बर ४ का वडा सदस्य प्रेमबहादुर श्रीषले युवा विद्यार्थीहरु लागूऔषध दुव्र्यसनीको प्रयोगबाट टाढै रहनुपर्ने बताउनुभयो । उहाँले समाजमा पछिल्लो समय युवाहरु विभिन्न कुलतमा फस्ने गरेको बताउँदै युवा विद्यार्थीहरु लागूऔषधको प्रयोगबाट बच्नुपर्ने भन्दै यसका लागि अभिभावक, शिक्षक, सरोकारवाला निकाय सबै क्षेत्रबाट रोकथामका प्रयासहरु गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले लागूऔषधको दुरुपयोग, नियन्त्रण र कानुनी उपचारको बारेमा आफ्नो प्रस्ुततीकरण गर्नुभएको थियो ।

कार्यक्रममा धवलागिरि माविका सहायक प्रधानाध्यापक उमादेवी कँडेलले लागूऔषध दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रमबाट युवा तथा विद्यार्थीहरु लाभान्वित हुने बताउनुभयो । आयोजक संस्थाहरूले यस्ता सचेतनामूलक कार्यक्रमले युवाहरूको माझमा लागूऔषधको विरुद्धमा सकारात्मक सोच विकास गर्न तथा स्वस्थ र सुरक्षित समाज निर्माणका लागि योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै समुदाय, स्थानीय तह, सुरक्षा निकाय र सामाजिक संघसंस्था बीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ ।

कार्यक्रम मिलन म्याग्दीका अध्यक्ष तिलकुमारी रानाको अध्यक्षता, लायन्स क्लब अफ म्याग्दी दोभान सिटीका कोषाध्यक्ष मसिना कार्कीको स्वागत र म्याग्दी एकेडेमीका संस्थापक निर्देशक विरेन्द्र बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा धवलागिरि मावि र म्याग्दी एकेडेमीको कक्षा ९ र १० का विद्यार्थीहरु, स्थानीय आमा समूह र राक्से नौमती पञ्चेबाजा समूहले सहभागिता जनाएका थिए ।



