धार्मिक, ऐतिहासिक र पुरात्तात्विक महत्व बोकेको भगवान् जगन्नाथको सोमबार विशेष समारोहबीच रथयात्रा भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक महत्वले प्रसिद्ध जगन्नाथधामको मन्दिर परिसरमा एक कार्यक्रमसहित रथयात्रा गरिएको हो ।
जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको समितिले जनाएको छ । जगन्नाथ मन्दिर परिसरमा कार्यक्रमका अतिथिहरु, गुठी व्यवस्थापन समितिका पदाधिकारी, सदस्यहरु, मन्दिरका पुजारी, सहभागी भक्तजनहरु, स्थानीयवासी, सर्वसाधारणबाट भजनकीर्तनसहित रथयात्रा गरिएको थियो ।

भगवान् जगन्नाथको मूर्तिलाई काँधमा बोकेर भजनकीर्तन गाउनुका साथै मन्दिर परिसरमा परिक्रमा गराइएको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ शर्माले बताउनुभयो । सर्वसाधारणहरु सबैले जगन्नाथको प्रत्यक्ष रुपमा दर्शन गरुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिन जगन्नाथको रथयात्रा गराउने प्रचलन रहिआएको छ । विगतका समयमा एक, दुईजना व्यक्तिले पनि साफा, फेथा र कपडा लिएर मन्दिरको दर्शन गर्न आएको खण्डमा भगवान् जगन्नाथको दर्शन गराइदिने परम्परा रहेकाले यसबाट तँछाडमछाड हुने र जसले जतिपटक पनि ल्याउन सक्ने भएको हुँदा यस्तो कार्य रोक्न हरेक वर्षको एकपटक मात्रै प्रत्यक्ष दर्शन गर्ने व्यवस्था मिलाइएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

सोही व्यवस्था अनुसार हरेक वर्षको एकपटक जगन्नाथको प्रत्यक्ष रुपमा दर्शन गर्न पाइन्छ । श्रावण शुक्ल द्वादशी तिथिमा रथयात्राको कार्यक्रम आयोजना गरी सोही दिन मात्र सबैलाई भगवान् जगन्नाथको प्रत्यक्ष दर्शन गराइदिने र साफालगायत कपडा फेरिदिने प्रचलन कायम गरिएको समितिको भनाइ छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख डिलकुमारी खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बेनी नगरपालिका नम्बर ५ वडाका वडा अध्यक्ष गोविन्द बानियाँ, नेपालका चर्चित तथा वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, जिल्ला अध्यक्ष हरिकृष्ण गौतम, भूमि प्रशासन कार्यालय म्याग्दीका प्रमुख साधनाकुमारी श्रेष्ठ, जिल्लास्थित सुरक्षा निकाय, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

रथयात्रा कार्यक्रममा प. भीमनाथ पराजुलीले जगन्नाथको बारेमा प्रवचन सुनाउनुभएको थियो । जगन्नाथ मन्दिरको हरेक वर्ष श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर रथयात्रा तथा सरकारी भोजको कार्यक्रम आयोजना गरिँदै आएको छ । सरकारी भोज लगाइएको रथयात्रा कार्यक्रममा यसवर्ष ६५ पाथी चामलको खिर पकाएर अतिथि र सहभागी भक्तजनहरु सबैलाई खुवाइएको थियो भने जगन्नाथका स्थानीयवासीले स्वयंसेवा गरेका थिए । रथयात्रामा सहभागी भई जगन्नाथको दर्शन र पूजाआजा गर्न म्याग्दीसहित विभिन्न जिल्लाहरुबाट १ हजारभन्दा बढी भक्तजनहरु जगन्नाथ पुगेका थिए ।

कार्यक्रम जगन्नाथ मन्दिरका अध्यक्ष निलकण्ठ शर्माको अध्यक्षता र तातोपानी कुण्ड व्यवस्थापन समितिका सदस्य नन्दबहादुर बानियाँ (दिपक)को सञ्चालनमा सम्पन्न भएको थियो । सोही कार्यक्रमको अवसरमा तातोपानी कुण्ड व्यवस्थापन समितिद्वारा आरती पुजा, दिप प्रज्ज्वलन, सरस्वती बन्दना र भजनकिर्तनसहितको धार्मिक कार्यक्रम सम्पन्न गरिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो । उहाँले धार्मिक क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तातोपानी कुण्डमा साप्ताहिक रुपमा नियमित गरिँदै आएको आरती पुजा रथयात्राको अवसरमा जगन्नाथ मन्दिर परिसरमा पनि सञ्चालन गरिएको बताउनुभयो ।

नेपालमा बाईसे–चौबीसे राज्यकालमा वि.सं. १५६० को दशकमा ऐतिहासिक पर्वत राज्यका तत्कालीन राजा दिलिपबम मल्ल (डिम्ब)ले भारतको उडिसा राज्यमा पुगेर भगवान् जगन्नाथको मूर्ति ल्याई गाजनेको हलहलेचौरमा स्थापना गरी आफू सोही ठाउँमा अलप भएको किम्बदन्ती रहेको छ । गण्डकी प्रदेशमा नै उत्कृष्ट मानिने आजभन्दा ५ सय २४ वर्ष पुरानो ऐतिहासिक जगन्नाथ मन्दिरभित्र जगन्नाथ, डिम्ब–महाराज, गणेश, राम–लक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहु बलभद्र तथा सुभद्रादेवी लगायतका मूर्तिहरु रहेका छन् ।

भगवान् जगन्नाथकै कारण गाजने गाउँमा अवैध घरेलु मदिरा उत्पादन तथा कुखुरा र बंगुरपालन गर्न निषेध गरिएको छ । यो नियम राजा डिम्बले जगन्नाथको मूर्ति स्थापना गर्ने क्रममै थितिको रुपमा बसालेको हुँदा आजपर्यन्त पनि कायमै रहेको स्थानीयवासी बताउँछन् । जगन्नाथ मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न आउने भक्तजनहरुलाई लक्षित गरेर समितिमार्फत नियमित पुजाआजा गर्ने व्यवस्था मिलाइएको छ ।
वि.सं. २०६९ सालमा मंसिरको ७ देखि १३ गतेसम्म सप्ताहव्यापी महायज्ञ लगाइएको थियो । उक्त श्रीमद्भागवत् ज्ञान महायज्ञबाट सङ्कलित एक करोड आठलाख रुपैयाँको रकममध्ये जगन्नाथ मन्दिरको पुनर्निर्माणमा कुल ४७ लाख ९१ हजार नौसय ७३ रुपैयाँ खर्च भएको थियो । मन्दिर शिखर शैली एवं काठमाडौंको पाटन, त्रिपुरेश्वर र भारतको उडिसा राज्यमा अवस्थित कृष्ण तथा जगन्नाथको शैलीमा पुनर्निर्माण गरिएको छ । मन्दिरको शिरमा तामाको चारवटा मूल गजुर तथा चारवटा चोसामा पित्तलको सुनौलो रङका गजुरहरु राखिएका छन् ।



