• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित प्रकाश माध्यमिक विद्यालयका विद्यार्थीहरुले रसुवा जिल्लाको बाढी पीडितहरुका लागि आर्थिक सहयोग गरेका छन् । विद्यालयमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर ३८ हजार नौसय २५ रुपैयाँ नगद रकम सहयोग गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक जयराम सुवेदीले यूवा रेडक्रस सर्कलको अगुवाइमा विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरुले खाजा खर्च कटाएर सो रकम सहयोग गरेको जानकारी दिनुभयो । “रेडक्रसको पहलमा विद्यार्थीहरुलै रकम सङ्कलन गरी हस्तान्तरण गर्नुभएको छ,” उहाँले भन्नुभयो, “विद्यार्थीबाट स्वस्फूर्त रुपमा चलाइएको यस अभियानलाई शिक्षक शिक्षिकाले पनि हौसला प्रदान गर्नुभएको छ ।”

विद्यालयमा नवगठित यूवा रेडक्रस सर्कलका अध्यक्ष प्रतीक गर्बुजाले स्कुले विद्यार्थीहरु बाढीबाट पीडित बनेको, आमाबाबु गुमाएको र अनाथ बनेका घटनाले आफूहरुलाई सहयोग रकम जुटाउन प्रेरित गरेको जानकारी गराउनुभयो । यूवा रेडक्रस सर्कलका शिक्षक नायक गोरखनाथ सुवेदीले विद्यार्थीबाट स्वस्फूर्त रुपमा सुरु भएको अभियानमा विद्यालयका शिक्षक शिक्षिकाले पनि साथ दिएको र सङ्कलित रकम बुधवारै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिनुभयो ।

यही भदौ १० गते रसुवाको लाङटाङ हिमाल आसपासबाट हिमनदी पहिरो खस्दा १ हजार बढी नागरिकको मृत्यु भएको, सयौँ जना बेपत्ता भएको र हजारौँ नागरिकहरुको अहिले पनि उद्धारको काम भैरहेको छ । बाढीपीडितबाट प्रभावितहरुलाई स्वदेश तथा विदेशबाट आर्थिकसहित जिन्सीलगायत सहयोगहरु आइरहेका छन् ।