आफूले खाने खाजाको खर्च कटाएर यहाँको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले रसुवाको बाढी पीडितहरुलाई आर्थिक सहयोग गरेका छन् । म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले खाजा खर्च कटाएर बाढी प्रभावितलाई सहयोग गरेका हुन् ।
विद्यालयमा गठित जुनियर तथा युवा रेडक्रस सर्कल र जनकल्याण बाल क्लबको अगुवाइमा शिक्षक तथा विद्यार्थीहरुको बीचमा आर्थिक सहयोग सङ्कलन गरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्नेगरी पठाइएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुले खाजा खर्च कटाएर सङ्कलन गरेको नगद छ हजार सातसय रुपैयाँ बाढीपीडितलाई सहयोग पठाइएको हो ।

यही भदौ १० गते रसुवाको लाङटाङ हिमाल आसपासबाट हिमनदी पहिरो खस्दा १ हजार बढी नागरिकको मृत्यु भएको, सयौँ जना बेपत्ता भएको र हजारौँ नागरिकहरुको अहिले पनि उद्धारको काम भैरहेको छ । बाढीपीडितबाट प्रभावितहरुलाई स्वदेश तथा विदेशबाट आर्थिकसहित जिन्सीलगायत सहयोगहरु आइरहेका छन् । बाढीबाट रसुवा, नुवाकोट र धादिङ जिल्ला प्रभावित बनेका छन् ।
यसैबीच सोही अवसरमा विद्यालयका भूतपूर्व विद्यार्थी पुलाचौर निवासी हाल वैदेशिक रोजगारीको सिलसिलामा अस्टेलियामा रहेका कुशल पौडेलले विद्यालयमा खेलकुद सामग्री खरिद गर्नका लागि नगद १० हजार रुपैयाँ सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक गजिन्द्र श्रेष्ठले बताउनुभयो । उक्त रकमबाट आवश्यक खेलकुदजन्य सामग्रीहरु खरिद गरिने भएको छ ।



