म्याग्दीको बेनी नगरपालिका २ खबरामा सोमबार धारिलो हतियार (दाउ) प्रहारबाट वृद्धाको मृत्यु भएको छ । खबराकी ७२ वर्षीया मनकुमारी घिमिरेको २५ वर्षीय आशिष भन्ने प्रसिद्ध बरुवालले धारिलो दाउ प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
सामान्य घरायसी विवादको कारण हतियार प्रहार गर्दा वृद्धाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको म्याग्दीका प्रहरी नायव उपरीक्षक राजन कार्कीले बताउनुभयो । हत्यामा संलग्न अभियुक्त बरुवाल नाताले घिमिरेको आफ्नै छोरीको छोरा पर्छन् । बिहान ११ बजेको समयमा घटना भएको र कार्यालयमा सूचना प्राप्त हुनासाथ तत्कालै प्रहरी निरीक्षक सागर तिमिल्सीनाको नेतृत्वमा प्रहरीलाई घटनास्थलमा परिचालन गरिएको थियो ।

प्रहरीले खबरामा भएको हत्या सम्बन्धी विषयमा सोमबारै अपराह्नतिर कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ । घटनापछि अभियुक्त बरुवाल जङ्गलको बाटो भएर मुख्य सडकमा झर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभयो । जिल्लाको अन्नपूर्ण गाउँपालिका ६ नम्बर वडा घार निवासी बरुवाल जनैपूर्णिमा पर्वमा १२ गते मावली घर खबरा आएको र लामो समयसम्म उनी त्यहीँ बसेका थिए ।
घटनामा संलग्न बरुवाललाई थप अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत म्याग्दीबाट कर्तव्य ज्यान मुद्दा शीर्षकमा ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । बरुवाल यसअघि अमेरिका गएको र त्यहाँ रेष्टुरेण्टमा आगो लगाएको कारण तीन वर्ष जेल सजाय परी नेपाल डिपोर्ट भएको बुझिन आएको प्रहरीको भनाइ छ ।



