• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर म्याग्दीमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । बेपत्तामध्ये सोमबार अन्नपूर्ण गाउँपालिका ६ गिबाङका ७५ वर्षीय ओमबहादुर तिलिजाको शव भेटिएसँगै पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ७ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिरोमा परेर बेपत्ता भएका अन्नपूर्ण ८ काफलडाँडाका २१ वर्षीय मनोज गर्बुजा र बेनी नगरपालिका ३ भकिम्ली छेपारेकी कुमारी विकको खोजीकार्य जारीरहेको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएर अन्नपूर्ण ६ गिबाङकी ५ वर्षीया जेनी पूर्जा, अन्नपूर्ण ८ काफलडाँडाका १९ वर्षीय सबिन गर्बुजा, अन्नपूर्ण ३ फगामका ५४ वर्षीया बोमाया पाईजा, ७५ वर्षीया शिलकुमारी गर्बुजा, मालिका ३ डाँडागाउँका ३१ वर्षीय चिरण पुन र २८ वर्षीय देवबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर अलपत्र परेका अन्नपूर्ण ५ पाउद्वार, गिबाङ, नेपाने, घिरबाङ, घोस्केखोर र किन्दुका १ सय ६ जनालाई हेलिकप्टरबाट उद्धार गरी सुरक्षित स्थानमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत शिख र घारको अस्थायी शिविरमा राखिएको छ । बेनी–जोमसोम सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरोले यातायात सम्पर्कबिच्छेद भएपछि हेलिकप्टरमार्फत उनीहरुलाई लत्ताकपडा, खाद्यान्नलगायत बन्दोवस्तीका सामानहरु ढुवानी गरिएको छ ।

तीन दिनको अविरल वर्षाले म्याग्दीमा खानेपानी, सडक, भवनलगायत क्षेत्रमा पु¥याएको क्षतिको विवरण सङ्कलन भैरहेको प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण म्याग्दीमा २ सय घरपरिवार विस्थापितको प्रारम्भिक विवरण प्राप्त भएको सहायक प्रजिअ आचायले बताउनुभयो ।