• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिद्वारा कालीगण्डकी नदीको बाढीपीडितलाई खाद्यान्न सहयोग भएको छ । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाको कारण कालीगण्डकीको बाढीबाट प्रभावित भएकाहरुलाई मोनाले म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा मङ्गलवार राहत वितरण गरेको हो ।

आनन्दबगरका बाढीपीडित १० जनालाई एकएक बोरा चामल, दाल, नुनतेल, चाउचाउलगायत दैनिक उपभोग्य सामग्रीहरु सहयोग हस्तान्तरण गरिएको बेनी नगरपालिका १ नम्बर वडा कार्यालयले जनाएको छ । उक्त सामग्रीहरु वडाध्यक्ष टेकबहादुर थापाले बाढी पीडितहरुलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त सामग्री बेनी नगरपालिकाको सवारीसाधनमार्फत ढुवानी गरी बाढीपीडित परिवारलाई उपलब्ध गराइएको छ ।

म्याग्दीमा हालै आएको अविरल वर्षासँगै बाढीपहिरोले विभिन्न स्थानमा पहिरोबाट प्रभावितहरुलाई लक्षित गरी मोनाले यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत १५ लाख रुपैयाँ राहत रकम सहयोग गर्ने निर्णय गरेको थियो । सोही रकमबाट आनन्दबगरका बाढीपीडितलाई खाद्यान्न सामग्री खरिद गरी वितरण गरिएको म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दीपक पौडेलको पनि उपस्थिति रहेको थियो ।

गएको १० गते राति परेको अविरल वर्षाले कालीगण्डकी नदीबाट आनन्दबगरको वस्तीमा ढुङ्गामाटो र बालुवासहितको लेदो घरभित्र पसेको थियो । मध्यरातमा घरभित्र पसेको कालीगण्डकी नदीको बाढीबाट स्थानीय भोजबहादुर घर्ती, सविना जिसी, सुनिता सुवेदी क्षत्री, रुद्रबहादुर थापा, रोशिका जिसी क्षत्री, पमी जिसी, रोजी जिसी, कालुमान थापामगर, नवराज थापामगर, एकमाया जिसी र भक्त जिसी प्रभावित हुनुभएको छ ।

आफन्तजनले गरेको फोन सम्पर्कबाट मध्यरातमा उर्लिएर आएको कालीगण्डकी नदीको बाढीबाट आनन्दबगरका स्थानीयले भागेर ज्यान जोगाएका थिए । उनीहरुको घरको भुइँतलामा बाढी पसेर किचनकोठामा क्षति पु¥याउनुका साथै लत्ताकपडा, भाँडावर्तनसहित सामान तथा ओढ्ने र ओछ्याउने कपडाहरु पानीले भिजाउनुका साथै बगाएको थियो ।