हिमाली जिल्ला म्याग्दीमा पहिरोग्रस्त तथा जोखिमपूर्ण क्षेत्रको भौगर्भिक अवस्थाबारे नेपाल भौगर्भिक समाज (एनजिएस)को विज्ञ तथा प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको छ । बेनी नगरपालिकाको अनुरोध तथा जिल्ला विपद् व्यवस्थापन समिति म्याग्दीको समन्वयमा नेपाल सरकारमार्फत विज्ञ टोली बोलाएर पहिरोग्रस्त क्षेत्रको अध्ययन थालिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा खटिएको टोलीले पहिलो चरणमा बेनीबजारको न्यूरोडदेखि माथि पर्ने खोरियाको पाखो, खरेनी खोल्सा र क्याम्पसचोकभन्दा माथिको पहिरोग्रस्त तथा जोखिमपूर्ण क्षेत्रमा स्थलगत अध्ययन गरेको छ । नेपाल भौगर्भिक समाजका अध्यक्ष भास्कर खतिवडासहितको विज्ञ तथा प्राविधिक टोलीले बेनीबजारको सुरक्षाका लागि चुनौती बनेको न्यूरोड क्षेत्रभन्दा माथिको पहिरोग्रस्त क्षेत्रमा अध्ययन गरेको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

अध्ययनका क्रममा पहिरोको अवस्था, जमिनको भू–बनोट तथा जोखिमको अवस्थाबारे जानकारी लिन ड्रोनबाट तस्बिर तथा भिडियो लिइएको छ । पहिरो खसेको स्थानबाट ढुङ्गा तथा माटोका नमुना समेत सङ्कलन गरिएको छ । उक्त टोलीले बेनीबजारका साथै जिल्लाको विभिन्न स्थानका पहिरोग्रस्त क्षेत्रमा स्थलगत अध्ययन गरिरहेको छ । अध्ययनबाट प्राप्त तथ्य तथा निष्कर्षको आधारमा विस्तृत प्राविधिक प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा बुझाइने भू–गर्भशास्त्री तथा त्रिचन्द्र बहुमुखी क्याम्पस काठमाडौँका सहायक क्याम्पस प्रमुख प्राध्यापक चम्पकबाबु सिलवालले जानकारी दिनुभयो ।

विज्ञसहितको टोलीमा म्याग्दीमा कार्यरत इन्जिनियरहरुलाई समेत परिचालन गरिएको छ । टोलीले शनिवार बेनी नगरपालिकाको बेनीबजारमाथिको क्षेत्रसँगै भकिम्ली, तातोपानी, अर्थुङ्गे तथा रघुगंगा गाउँपालिकाको पिप्ले र भगवतीमा पहिरोग्रस्त क्षेत्रको अध्ययन गरेको छ । गएको असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि बुधवार राति करिब साढे ११ बजे बेनीबजारको न्यूरोड क्षेत्रमा वस्तीभन्दा माथिबाट पहिरो खसेको थियो । खोरियाको पाखोबाट खसेको पहिरोले बेनीका एक दर्जनभन्दा बढी घरमा क्षति पु¥याएको छ । भिरालो तथा कमजोर भूगोल र भूमिगत पानीका कारण उक्त क्षेत्रमा पहिरो खस्ने क्रम अझै रोकिएको छैन ।

पहिरोका कारण न्यूरोड र गणेशटोल क्षेत्र उच्च जोखिममा परेको छ । विज्ञ टोलीले स्थलगत अध्ययनसँगै सङ्कलन गरिएका माटो तथा ढुङ्गाका नमुनाको विश्लेषण गरेपछि सरकारलाई विस्तृत प्रतिवेदन बुझाउने तयारी गरेको जनाएको छ । प्रतिवेदन प्राप्त भएपछि त्यसैको आधारमा पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण, भत्किएका संरचनाको पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका आवश्यक कार्यहरु अगाडि बढाइने म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो ।

म्याग्दीमा अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी हालसम्म ७ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । पहिरोमा परेर २ जना घाइते भएका छन् । प्रारम्भिक विवरण अनुसार वर्षासँगै आएको पहिरोबाट जिल्लाभर १ सय ११ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने ९३ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै, ३ सय ४२ घर पहिरोको उच्च जोखिममा रहेका छन् । सबैभन्दा बढी क्षति अन्नपूर्ण गाउँपालिकामा भएको छ । अन्नपूर्णमा पहिरोमा परी ५ जनाको मृत्यु, १ जना बेपत्ता तथा ४५ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला समन्वय समिति म्याग्दीका शाखा अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत म्याग्दी खण्डको विभिन्न स्थानमा पहिरो गएपछि अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ जिल्ला सीधा सडक सञ्जाल, विद्युत् र टेलिफोन सेवाबाट सम्पर्कविच्छेद भएको छ । जिल्लाभर बाढीपहिरोका कारण २ सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायमार्फत पहल भैरहेको छ भने अन्नपूर्ण क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा पुनसर््थापनाको काम भैरहेको छ ।

म्याग्दीमा विपद्जन्य घटनाबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य समेत जारीरहेको छ । अन्नपूर्ण गाउँपालिकामा हेलिकप्टरमार्फत खाद्यान्न, औषधी, लत्ताकपडालगायत अत्यावश्यक सामग्रीहरु ढुवानी गर्नुका साथै बिरामीहरुको उद्धार गरी अस्पतालसम्म पु¥याइएको शाखा अधिकृत सुवेदीले जानकारी दिनुभयो ।




